काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीबाट पीडित नागरिकमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने वा थप पीडा दिने प्रयास गर्नेहरूलाई अपराधीको संज्ञा दिँदै त्यस्ता व्यक्तिमाथि सरकार निर्मम रूपमा प्रस्तुत हुने चेतावनी दिएका छन्।
प्रधानमन्त्री शाहले शनिबार सामाजिक सञ्जालमार्फत बाढीपछि जारी खोज, उद्धार तथा राहत अभियानबारे जानकारी दिँदै पीडित नागरिकको आक्रोशलाई बुझ्न र उनीहरूप्रति संवेदनशील बन्न आग्रह गरेका हुन्।
उनले आफन्त हराएका नागरिकको आक्रोशलाई अस्वाभाविक रूपमा लिन नहुने बताएका छन्।
“आफन्त हराएर अथाह पीडामा रहेका नागरिकहरूको आक्रोश स्वाभाविक हो। एकै क्षणमा आफ्नो संसार गुमाएकाहरूको आक्रोश, आक्रोशभन्दा बढी पीडा व्यक्त गर्ने माध्यम हो,” प्रधानमन्त्री शाहले भनेका छन्।
पीडामा रहेका नागरिकमाथि सामाजिक सञ्जाललगायत माध्यमबाट अनावश्यक टिप्पणी गर्नेहरूप्रति भने उनले कडा चेतावनी दिएका छन्।
“यस संवेदनशील घडीमा पीडामा रहेका मानिसहरूमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन्। ती अपराधीहरूप्रति सरकार निर्मम हुनेछ,” उनले भनेका छन्।
६४ वर्षीया चन्द्रिकाको उद्धारले जगायो आशा
प्रधानमन्त्री शाहले नुवाकोटको विदुर नगरपालिका–१०, वेत्रावतीमा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई जीवितै उद्धार गरेको घटनालाई उद्धार अभियानको आशाजनक खबरका रूपमा उल्लेख गरेका छन्।
उनका अनुसार चन्द्रिकाको उद्धारले खोज तथा उद्धार अभियान अझै जारी रहेको र कठिन अवस्थामा पनि मानिसलाई जीवितै उद्धार गर्न सकिने आशा दिएको छ।
प्रधानमन्त्रीले बाढीका बेला ज्येष्ठ नागरिकहरूले आफ्ना नातिनातिना र परिवारका सदस्यलाई जोगाउन ज्यानको समेत पर्वाह नगरी सुरक्षित स्थानतर्फ भाग्नुपरेको अवस्थालाई स्मरण गरेका छन्।
बाढीले घर, खेतबारी, पशुपक्षी र वर्षौँदेखि जोडेको सम्पत्ति क्षणभरमै बगाएको भन्दै उनले अहिले धेरै ज्येष्ठ नागरिक अस्थायी शिविरमा बस्न बाध्य भएको बताएका छन्।
ज्येष्ठ नागरिकका लागि छुट्टै आश्रय र उपचार
प्रधानमन्त्री शाहका अनुसार नुवाकोटको देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानको भवनसमेत बाढीबाट क्षतिग्रस्त भएपछि त्यहाँ रहेका ज्येष्ठ नागरिकमध्ये ७ जनालाई काठमाडौंको नेपाल सिनियर केयर म्हैपी र १७ जनालाई नुवाकोटको इनारपाटीस्थित कृष्णप्रणामी मन्दिरमाअल्पकालीन आश्रय दिइएको छ।
उनीहरूलाई हिँडडुलका लागि आवश्यक ह्वीलचेयर तथा वाकर उपलब्ध गराइएको र स्वास्थ्य परीक्षण तथा मनोसामाजिक परामर्शका लागि विशेष टोली परिचालन गरिएको उनले बताएका छन्।
अस्थायी बसाइलाई सकेसम्म छोटो बनाएर प्रभावित ज्येष्ठ नागरिकलाई छिटो सुरक्षित बसोबासको व्यवस्था मिलाउने प्रतिबद्धता पनि प्रधानमन्त्रीले व्यक्त गरेका छन्।
“हजुरहरूले आफूलाई एक्लो नठान्नु होला। जीवनको यो कठिन मोडमा हजुरहरूलाई कहिल्यै अलपत्र छोड्दैनौं। हजुरहरूसँग यो राज्य छ, यो सरकार छ,” उनले भनेका छन्।
‘बाढीले ओत र जायजेथा बगायो, स्वाभिमान होइन’
प्रधानमन्त्री शाहले बाढीले ज्येष्ठ नागरिकको घर, सम्पत्ति र आश्रय खोसे पनि उनीहरूको अनुभव, स्वाभिमान र मार्गदर्शनको महत्व समाप्त गर्न नसक्ने बताएका छन्।
“भोटेकोशीको बाढीले हजुरहरूको ओत र जायजेथा बगाएको छ, तर हजुरहरूको स्वाभिमान, अनुभव र मार्गदर्शनको अपरिहार्यतालाई बगाउन सकेको छैन,” उनले भनेका छन्।
ज्येष्ठ नागरिकलाई देशको जग र मार्गदर्शकको संज्ञा दिँदै उनले प्रभावित नागरिकलाई आफूहरूमाथि भरोसा राख्न आग्रह गरेका छन्।
सुरक्षाकर्मी अझै दलदल र खण्डहरमा खोज्दै
प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मीको खोज तथा उद्धार अभियान अझै जारी रहेको बताएका छन्।
उनका अनुसार सुरक्षाकर्मीहरू बाढीपछि दलदल र खण्डहर बनेका क्षेत्रमा समेत आफ्नो ज्यान जोखिममा राखेर हराइरहेकाहरूको खोजीमा खटिएका छन्।
“हाम्रा सुरक्षाकर्मीहरू अझै पनि कुनै बहाना नबनाई बाढीपछिको दलदल र खण्डहर बनेका क्षेत्रहरूमा खोस्रिरहेका छन्। उहाँहरूका आँखा चनाखा छन्,” प्रधानमन्त्रीले भनेका छन्।
खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मीको आत्मबल बढाउनु सबैको कर्तव्य भएको उल्लेख गर्दै उनले उनीहरूप्रति कृतज्ञता व्यक्त गर्न पनि आग्रह गरेका छन्।
बाढीमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री शाहले प्रभावित परिवार र बेपत्ता आफन्तको खोजीमा रहेका नागरिकलाई सरकार उनीहरूको साथमा रहेको सन्देश दिएका छन्।
“हामीमाथि भरोसा राख्नुहोस्…” भन्दै प्रधानमन्त्री शाहले आफ्नो सन्देशको अन्त्य गरेका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्