काठमाडौं । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट ११ दिनपछि जीवितै उद्धार गरिएका चिनियाँ नागरिक लु हाइताओको उपचार सैनिक अस्पताल छाउनीमा भइरहेको छ।
भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि सुरुङभित्र थुनिएका ४९ वर्षीय लुलाई शनिबार करिब २२५ मिटर लामो सुरुङबाट उद्धार गरिएको थियो। उद्धारपछि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएका उनलाई चिनियाँ दूतावासको टोलीले अस्पताल पुगेर भेटेको थियो।
चिनियाँ सञ्चारमाध्यम सीसीटीभीका अनुसार सुरुङभित्र रहँदा लुले उद्धार टोलीले बजाएको सिटीको आवाज सुने पनि उद्धार हुने विश्वास गरेका थिएनन्। उद्धारकर्ताले आँखाअगाडि बत्ती देखाएपछि मात्रै आफूलाई साँच्चिकै उद्धार गर्न आएको महसुस भएको उनले बताएका छन्।
‘उद्धार हुने आशा नै मारिसकेको थिएँ,’ लुले दूतावासका प्रतिनिधिसँगको संवादमा बताएका छन्।
लु चीनको हेनान प्रान्तका किसान हुन्। उनी अतिरिक्त आम्दानीका लागि फुर्सदमा सिकर्मीको काम गर्थे। गत फेब्रुअरीमा पहिलोपटक गाउँकै एक व्यक्तिसँग रोजगारीका लागि नेपाल आएका उनी विवाहित हुन् र उनका एक छोरा छन्।
बहिनी लु हाइरोङका अनुसार लुले नेपालमा आफूले काम गर्ने स्थानबारे परिवारलाई जानकारी दिएका थिएनन्। भोटेकोशी बाढीपछि बेपत्ता चिनियाँ नागरिकसम्बन्धी आपसी सहयोग समूहमा आएका समाचारमार्फत परिवारले मात्रै उनले काम गर्ने ठाउँबारे थाहा पाएको थियो।
बाढी आएको छैटौँ दिनमा मात्रै लु बेपत्ता भएको खबर पाएपछि परिवार स्तब्ध बनेको थियो। उनीहरूले नेपालका समाचार एआईको सहयोगमा चिनियाँ भाषामा अनुवाद गरेर पछ्याइरहेका थिए।
लुको उद्धार भएको खबर पाएपछि पनि परिवारलाई उनी साँच्चिकै लु नै हुन् भन्ने विश्वास गर्न समय लागेको थियो। उद्धारपछि सार्वजनिक भएको तस्बिर आफन्तबीच सेयर गरेर त्यसमा देखिएको व्यक्ति लु नै भएको पुष्टि गरेपछि मात्रै परिवार ढुक्क भएको हो।
लुको जीवित उद्धारलाई परिवारले ठूलो विपत्तिबीच भएको ‘चमत्कार’ का रूपमा लिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्