काठमाडौं, १ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको इन्च भूमि कसैलाई मिच्न नदिने भन्दै कालापानीबाट सेना फिर्ता लैजान भारतलाई आग्रह गर्नुभएको छ ।
प्रमुख विपक्षी नेपाली कांग्रेसले कालापानीबारे प्रधानमन्त्री किन बोल्दैनन् भन्ने प्रश्न गरिरहेका बेला प्रधानमन्त्री अोलीले यो सरकारले विदेशी फौज फिर्ता गराउने समेत बताउनुभयो । नेकपाका भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार आफ्नो अतिक्रमित भूमि फिर्ता लिन सक्षम रहेको समेत बताउनुभयो । उहाँले नेपालको सिमाना आज भोली नमिएको भन्दै यसअघिका शासकको कमजोरीका कारण मिचिएको भूभाग फिर्ता लिन अहिलेको सरकार सक्षम रहेको बताउनुभयो ।
राष्ट्रियताको पक्षमा सबै दल र जनता एकजुट हुँदा सरकारलाई सजिलो भएको तर तर केही व्यक्तिहरुले अतिरिक्त देशभक्ति देखाउने नाममा उछृङ्खल गतिविधि गरेको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि ब्यक्त गर्नुभयो ।
नेपालले शान्ति सेनामार्फत विश्वमै शान्तिको पक्षमा नाम कमाएको भन्दै उहँले छिमेकीसँग कुनै तनावबिना संवादको माध्यमबाट सीमा समस्या समाधान गर्ने पनि बताउनुभयो । ‘अहिलेको सरकार संवाद गर्न नसक्ने, कुरा गर्न नसक्ने त्यस्तो सरकार होइन । इतिहासले देखाइसकेको छ । यो सरकार राष्ट्रिय हितका पक्षमा अड्न सक्छ र लड्न सक्छ । सबैलाई आग्रह गर्न चाहन्छु । सरकारले संवादको माध्यमबाट सीमा समस्याको समाधान गर्छ ।’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले भारतले पछिल्लो समय जारी गरेको नक्सा सच्याएरमात्र नहुने भन्दै नेपाली भूमि फिर्ता लिन लागेका छौं, विदेशी फौज हटाउन लागेका छौं । हामी त्यसमा सक्षम छौं । नक्सा सच्याउने कुरै होइन ।’ उहाँले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्