काठमाडौं, २८ मंसिर । श्रीश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा गएराती बम बिस्फोट भएको छ । राती ११: ४५ बजे भएको बम विस्फोटमा परी प्रहरी निरीक्षकसहित अन्य ५ प्रहरी घाइते भएका छन् । नगरपालिकाको महेन्द्रनगरमा शंकास्पद वस्तु राखिएको जानकारी पाएपछि बुझ्नका लागि घटनास्थलमा प्रहरी पुग्ने बित्तिकै बम बिस्फोट भएको थियो ।
मध्यराति भएको बम विस्फोटमा स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको घटनास्थलमै मृत्यु भएको हो।
विस्फोटमा परी प्रहरी निरीक्षक अमिर दाहाल र प्रहरी जवान रिजन महतो, मृतक घरमुली राजेश्वर साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली गम्भीर घाइते भएका छन्। जनकपुर प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि उनीहरुलाई धरान लगिएको छ।
घटनामा अन्य २ जना सामान्य घाइते भएको बताइएको छ। घरमुली साह मोटो रकम ऋण लगानी गर्ने साहु भएका कारण कसैले उनीहरुको हत्या गर्नकै लागि राखेको बम विस्फोट भएको हुन सक्ने स्थानीयको अनुमान छ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ। घटनाबारे प्रहरीले अनुसन्धान तीव्र पारेको छ। घटनास्थल इलाका प्रहरी कार्यालयबाट ३(४ सय मिटरको दूरीमा पर्छ।
प्रतिक्रिया दिनुहोस्