काठमाडौं २९ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा २ का नयां शक्तिका उम्मेदवारी छाडेर इज्जत बचाउन आग्रह गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली सहित गोरखाको भच्चेकमा भएको सभामा प्रचण्ड बाबुरामलाई उम्मदेवारी फिर्ता लिएमा आफूले सहयोग गर्ने आश्वासन समेत दिए ।
प्रचण्डले भावुक जस्तै लाग्ने गरी भने म अहिले पनि भन्छु, उम्मेदवारी छोड्दिनुस् । माओवादी, आन्दोलन, प्रचण्ड छोडेर गल्ती गरेँ भनेर आउनुस्, तपाईलाई स्वागत गर्न तयार छु ।’
प्रचण्डले भने नेपाल दिल्ली होइन, गोरखा दिल्ली होइन, तपाई केजरीवाल पनि होइन । यो हुनै नसक्ने कुरातिर तपाई किन लाग्नुभयो भन्दै नेपाल बुझ्न समेत आग्रह गरे ।
प्रचण्डको बाबुराम बारेको सम्वोधनको सारांश
‘मलाई गोरखाली दिदीबहिनी दाजदाइका अगाडि उभिएर बाबुरामजीको कुरा गर्दा बडो नमीठो लाग्छ । अति भावुक पनि भएर पनि आउँछु । मैले २५ वर्षदेखि बाबुरामजीलाई बचाउँदै बचाउँदै, जोगाउँदै जोगाउँदै ल्याएको थिएँ । धेरै ठूलो दुःख गरेर जोगाएको हो बाबुरामलाई ।
पछिल्लो चरणमा बाबुरामलाई जोगाउन सकिएन, उहाँ फुत्किुनभयो । कहाँ जानुभयो कहाँ जानुभयो ? कम्युनिष्ट आन्दोलन छाडेर जानुभयो, विचार छोडेर जानुभयो, नैतिकता छोडेर जानु भयो । मलाई अहिले पनि उहाँको माया लाग्छ ।
म यो मञ्चबाट बाबुरामजीलाई भन्न चाहन्छु, खुरुक्क माओवादीमा फर्किनुस्, तपाईको भलो त्यसैमा छ । दायाँबायाँ गर्नुभयो भने घर न घाटको बन्नुहुन्छ ।
मलाई बढो पीर परेको छ । म अहिले पनि भन्छु, उम्मेदवारी छोड्दिनुस् । तपाईले जित्नु पनि हुन्न । तपाईलाई कांग्रेसले ठाउँ पनि दिन्न ।
तपाईलाई माया गर्ने हामी माओवादीले मात्र हो । मलाई लाग्छ कि कांग्रेसमै गए पनि तपाईलाई ठूलो नेता मान्दैनन् । अवसरवादी, विचार नभएको, विचलनमा परेको, बुद्धि नभएको भन्नेवाला छन् ।
मैले उहाँलाई भनेको पनि छु, तपाईले पढ्नुचाँहि भयो, ज्ञान हासिल गर्नुभयो । तर, कहाँ प्रयोग गर्ने बुद्धि भएन । ज्ञान भएको, बुद्धि नभएको मान्छे भन्ने गरेको छु मैले बाबुरामजीलाई ।
तपाईको पतन भएको मलाई रमाइलो लागेको छैन । हामी जनयुद्धमा सँगै हिड्यौं, शान्ति सम्झौता गर्यौं । अस्ति नारायणकाजी कमरेड र मेरो सल्लाह भएको थियो, उहाँ आउनुभयो भने २ नम्बरमा बाबुरामलाई दिनुपर्छ । बरु नारायणकाजी कमरेडलाई अर्को क्षेत्र खोजौंला । तर, उहाँको बुद्धि त पुगेन ।
बाबुरामजी घर न घाटको भएको रमाइलो लागेको छैन । म फेरि एक पटक भन्न चाहन्छु, यो नौटंकी गर्न छोडिदिनुस् । दुनियाँका अगााडि किन नाटक गर्नुहुन्छ ? देशभरि त हांस्य पात्र भइसक्नुभएको छ ।
तर, यदि त्यसका लागि तपाई तयार हुनुभन्न भने भीरबाट लड्ने गोरुलाई रामराम भन्न सकिन्छ, काँध थाप्न सकिन्नँ भनेजस्तै तपाईको स्थिति हुनेछ हेर्दै जानुहोला । मेरो पुरानो मित्र हुनाले अझै सहानुभूति छ, आउनुस्, सँगै मिलेर काम गरौं ।’
प्रतिक्रिया दिनुहोस्