बुटवल,५ माघ ।
प्रदेश ५ को आइतबारदेखि सुरु भएको हिउँदे अधिवेशनमा सांसदहरुले प्रदेशको स्थायी राजधानी र नामको टुङ्गो लगाउन जोड दिएका छन् । पाँचौ अधिबेशनको पहिलो बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका तर्फबाट सांसद फरकउद्दिन खाँले स्थायी राजधानी र नामाकरण तोक्ने विषयमा सिँगो संसद एकमत भएको उल्लेख गर्दै त्यसका लागि काँग्रेस प्रतिपक्षको हैसियतले सहयोग गर्न तयार रहेको बताउनुभयो ।
सत्तारुढ दल नेकपाका सांसद भूमिश्वर ढकालले यसै अधिवेशनबाट प्रदेश राजधानी र नामाकरणको टुङ्गो लाग्ने विश्वाश व्यक्त गर्नुभएको छ । स्थायी राजधानी र नामाकरण टुङ्गो लगाउन बनेको विशेष समितिले तयार पारेको प्रतिवेदन माथि संसदमा वृहत छलफल गरेर टुङ्गो लाग्ने उहाले बताउनुभयो । यस्तै सांसद दिपेश थारुले कृषकहरुको बालीमा भएको क्षती न्यूनिकरणमा ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो । प्रदेश प्रमुखबाट प्रदेश सभाको अधिवेशन आह्वान भएको पत्र पढेर सुनाएपछि सुरु भएको बैठकमा चौथो अधिवेशनबाट प्रमाणिकरण भई आएको प्रदेश ५ प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धि ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी पत्र पढेर सुनाइएको थियो । संसदको अर्को बैठक आगामी माघ १२ गते बस्ने गरी स्थगित भएको छ ।
प्रतिक्रिया दिनुहोस्