काठमाडौ, १७ माघ । नेपाल कम्युनिस्ट पार्टी नेकपा केन्द्रीय समिति बैठकमा बिहीबारबाट छलफल सुरु भएको छ । बुधबार उद्घाटन शत्रमा प्रस्तुत राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि बिहीबारबाट समूहगत छलफल सुरु भएको हो ।
बुधबार सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने महासचिव विष्णु पौडेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो प्रतिवेदनमाथि केन्द्रीय समितिमा १५ वटा समूह बनाएर छलफल सुरु भएको छ ।
राष्ट्रिय सभागृह, केन्द्रीय कार्यालय धुम्बाराही र जनवर्गीय संगटनहरुको कार्यालय पेरिसडाँडामा समूहगत छलफल भइरहेको छ। हरेक समूहमा ३० जना र एउटामा मात्र ३१ जना सदस्य सहभागी छन्। छलफलको निश्कर्ष १५ वटै टोलीका नेताले बैठकमा प्रस्तुत गर्नेछन्। १५ मध्ये ६ वटा महिलाले नेतृत्व गरेका छन्।
छलफलका लागि १५ समूह विभाजन गरिएको छ। अहिलेसम्म १४ समूहले टोली नेता पाएका छन् । अन्य १४ समूहले भने टोली नेता र उपनेता पाएका छन्। उर्मिला अर्याल, कमला रोका, खिमलाल भट्टराई, जगन्नाथ खतिवडा, ठाकुर गैरे, दिनानाथ शर्मा, पूर्णकुमारी सुवेदी, विन्दा पाण्डे, भगवती चौधरी, राजेन्द्र राई, रेणु दाहाल, लेखनाथ न्यौपाने, राम कार्की र हिमाल शर्मा टोली नेता चयन भएका छन्।
प्रतिक्रिया दिनुहोस्