महेन्द्रनगर । भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रवीन्द्र देवकोटामाथि सार्वजनिक कार्यक्रममा दुर्व्यवहार तथा हातपात गरेको आरोप लागेपछि पत्रकार ऐश्वर्या कुँवरलाई नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले सदस्य पदबाट निलम्बन गरेको छ।
महासंघका जिल्ला शाखा सचिव कुन्दन पाण्डेयद्वारा जारी विज्ञप्तिअनुसार असार ७ गते महेन्द्रनगरस्थित होटल स्वीट ड्रीममा समाचार सङ्कलनका क्रममा पत्रकार कुँवरले वडाध्यक्ष देवकोटामाथि गरेको दुर्व्यवहार र हातपातको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विज्ञप्तिमा पत्रकार कुँवरले सार्वजनिक स्थलमा पत्रकारको पदीय मर्यादा र आचारसंहिताविपरीत व्यवहार गरेको ठहर गर्दै नेपाल पत्रकार महासंघको विधान, २०६० (पाँचौँ संशोधन, २०७५) को परिच्छेद ५ को दफा १८ उपदफा (३) को ‘च’ बमोजिम शाखा सदस्य पदबाट निलम्बन गरिएको उल्लेख गरिएको छ ।
महासंघले घटनाको छानबिन प्रक्रिया अघि बढाइरहेको जनाउँदै सार्वजनिक भएको भिडियो सामग्रीमा वडाध्यक्ष देवकोटाले पत्रकार कुँवरमाथि फिरौती माग्ने तथा रकम असुली गरेको आरोप लगाएको देखिएकाले सो सम्बन्धी प्रमाण तथा आधार उपलब्ध गराइदिन सम्बन्धित पक्षसँग आग्रह गरेको छ।
यसैबीच, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले पनि छुट्टै विज्ञप्ति जारी गर्दै पछिल्लो समय केही सञ्चारमाध्यम र पत्रकारबाट पत्रकार आचारसंहिताविपरीत सामग्री प्रकाशन तथा प्रसारण भइरहेका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।
महासंघका प्रदेश महासचिव शिवराज भट्टद्वारा जारी विज्ञप्तिमा सामाजिक सञ्जाल तथा डिजिटल माध्यममा दर्शक, पाठक र भ्युज बढाउने उद्देश्यले व्यक्तिका निजी तथा पारिवारिक विषयवस्तुलाई अनावश्यक रूपमा सार्वजनिक गर्ने, पुष्टि नभएका विवरण प्रचार गर्ने तथा मानमर्दन हुने सामग्री सम्प्रेषण गर्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गरिएको छ।
प्रदेश समितिले पत्रकारिता सत्य, निष्पक्षता, उत्तरदायित्व र जनहितमा आधारित पेसा भएकाले पत्रकार आचारसंहिता, प्रेस स्वतन्त्रताको मर्यादा र व्यावसायिक जिम्मेवारीलाई आत्मसात् गर्दै समाचार सम्प्रेषण गर्न सम्पूर्ण सञ्चारकर्मी तथा सञ्चारमाध्यमलाई आग्रह गरेको छ।
साथै समाचारको नाममा कुनै पनि व्यक्तिको निजी जीवनमा अनावश्यक हस्तक्षेप नगर्न, तथ्य र प्रमाणका आधारमा मात्रै सामग्री प्रकाशन तथा प्रसारण गर्न र मानवीय संवेदनशीलताको सम्मान गर्न महासंघले विशेष अनुरोध गरेको छ।
पत्रकारिताप्रतिको जनविश्वास कायम राख्न तथा सञ्चार क्षेत्रको गरिमा अभिवृद्धि गर्न सबै पत्रकार र सञ्चारमाध्यम जिम्मेवार, मर्यादित र उत्तरदायी बन्नुपर्नेमा महासंघले जोड दिएको छ।







प्रतिक्रिया दिनुहोस्