बझाङ, १० मंसिर । आज भएको प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचनमा मतदाताहरुको उपस्थिती केहि स्थानमा उत्साहजनक भएपनि केही मतदान केन्द्रमा विवाद झड्प भएका छन् । बझाङमा दिउँसो तीन बजेसम्ममा झण्डै ५२ हजार मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयले ५० प्रतिशत अथवा झण्डै ५२ हजार मत खसिसकेको जानकारी गराएको हो । बझाङमा एक लाख ४ हजार ७ सय ७५ जना मतदाता रहेको छन् ।
जिल्ला निर्वाचन अधिकारी धुव्र कुमार भण्डारीका अनुसार विहान जाडोका कारण मतदाता कम आएपनि अहिले बढेका छन् । जिल्लाका १ सय ६० मतदान केन्द्रमा अहिले शान्तिपूर्ण वातावरणमा मतदान भैरहेको बताउनुभयो ।
चार ठाउँमा बम विस्फोट
बझाङका ४ वटा मतदान केन्द्रमा बम विस्फोट भएको छ । छबीसपाथीभेरा गाउँपालिका ४ मा रहेको जनता आधारभुत विद्यालय बागमाडु मतदान केन्द्र भन्दा ४ सय मिटर पर अज्ञात समुहले बम विष्फोट गराएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
यस्तै छविस पाथीभेरा गाउँपालिका ५ थलारा निमावि व्यासीको मतदान केन्द्र भन्दा १ किलो मिटर टाढा पर्ने जंगलमा पनि बम विष्फोट भएको छ । विभिन्न ठाउँमा विस्फोट भए पनि कुनै पनि क्षति भने नभएको प्रहरी नायब उपरिक्षक ऋषिराम कडेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्