काठमाडौं, १४ मंसिर । वम विस्फोटमा म्यादी प्रहरीको मृत्यु हुनुका साथै उम्मेदवार घाइते भएपछि सरकारले सुरक्षा व्यवस्था कडा बनाउने भएको छ ।
गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार चार वटै सुरक्षा निकायका प्रमुखलाई बोलाएर सुरक्षा व्यवस्थाप्रति असन्तुष्टि जनाएका छन् । सुरक्षा व्यवस्था राम्रो छ भन्दाभन्दै निर्वाचन नजिकिँदै गर्दा बम विस्फोटका घटना बढेको भन्दै उनले असन्तुष्टि जनाएका हुन् ।
बैठकपछि गृह सचिव मोहनकृष्ण सापकोटाले भने, ‘चुनावलाई असर पार्ने तथा विस्फोटका गतिविधिहरुलाई निस्तेजपार्न कडा कारबाही गर्ने निर्णय भएको छ ।’
उनका अनुसार अब शान्ति सुरक्षाको प्रवन्ध मिलाउन आवश्यकता अनुसार न्यूनतमदेखि अधिकतमसम्म बल प्रयोग गरिनेछ ।
मंगलबार प्रधानमन्त्री देउवाको चुनावी सभा नजिकै भएको बम विस्फोटमा घाइते भएका मध्ये म्यादी प्रहर विनोद चौधरीको उपचारका क्रममा निधन भएको छ ।
यस्तै बुधबार उदयपुरमा भएको बम विस्फोटमा कांग्रेस उम्मेदवार नारायण कार्कीसहित ७ जना घाइते भएका छन् । थुप्रै ठाउँमा उम्मेदवार लक्षित विस्फोट भएका छन् । सुरक्षा समितिले दाङ विस्फोटमा मृत्यु भएका चौधरीको परिवारलाई १० लाख दिने निर्णय पनि गरेको छ ।
बैठकमा नेपाली सेनाका तर्फबाट प्रधानसेनापति राजेन्द्र क्षेत्रीको सट्टा बलदेव राज महत सहभागी थिए भने नेपाल प्रहरीका प्रमुख प्रकाश अर्याल, राष्ट्रिय अनुसन्धानका दिलिप रेग्मी र सशस्त्र प्रहरीका प्रमुख सिंहबहादुर श्रेष्ठ सहभागी थिए । यता शुरक्षा निकायलाई निर्देशन दिएपनि जिल्ला जिल्लामा उम्मेदवारहरु माथि आक्रमण रोकिएको छैन विहिवार राति मात्र कैलालीमा वाम गठबन्धनका उम्मेदवारको गाडीमा आगजनी भएको छ । नचिनेका मानिसको समूहले बिहीबार बिहान साढे ३ बजेतिर निर्वाचन क्षेत्र नम्बर २ को ( क ) बाट प्रदेशसभाका उम्मेदवार रतन थापाको गाडीमा आगजनी गरेको प्रहरीले जनाएको छ ।
लम्की चुहा नगरपालिकामा रहेको थापाको घर पछाडि रहेको ग्यारेजमा राखिएको बा १६ च ६८९९ नम्बरको गाडीमा आगजनी भएको हो । त्यो गाडी थापाले चुनावी प्रचारका लागि प्रयोग गरिएको थियो ।
आगजनीमा संलग्नहरुको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय लम्कीका इन्चार्ज नैन बहादुर साउदले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्