काठमाडौं, १० वैशाख । डिल्लीबजार कारागारमा कैदीबन्दीबीच झडप भएको छ । चौकीदार परिवर्तन गर्ने विषयलाई लिएर झडप भएको प्रहरी स्रोतले जानकारी दिएको छ । अहिले कारागार क्षेत्रमा बाक्लोरुपमा प्रहरी परिचालन गरिएको छ । प्रहरीका अनुसार कैदीबन्दीले कारागारभित्रै नाराबाजीसमेत गरेका थिए । कारागार कार्यालयमा भित्रबाट ताला लगाएर प्रदर्शन गरिएकोसमेत जनाइएको छ । महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख विश्वराज पोखरेलले चौकीदार राख्ने विषयमा विवाद हुँदा कारागारमा भित्रबाट ताला लगाएर प्रदर्शन भएको र अहिले प्रहरी परिचालन गरेर स्थिति नियन्त्रणमा लिइसकिएको जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्