काठमाडौं, ५ साउन । अविरल वर्षा र बाढीका कारण धादिङमा पृथ्वी राजमार्ग ठाउँठाउँमा अवरुद्ध भएको छ । चितवनबाट धादिङ प्रवेश गर्ने पृथ्वी राजमार्गको विन्दु मोवाखोलाको पुल बाढी र पहिरोले क्षति पुर्याएको छ ।
मोवाखोलामा आएको बाढीले पुलको धादिङतर्फको खण्ड भत्काएको छ । त्यस्तै धादिङको जोगिमारामा खसेको पहिरोले ३ वटा गाडी बगाएको छ भने ४ वटा पुरिएको छ । धादिङको फर्केखोला, गलौंदी, गल्छीको महेशखोला क्षेत्रमा पनि पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी रुपक खड्काले दिनुभयो ।
चितवन र धादिङको सीमामा रहेको मौवा खोलाको पुल भाँचिएसँगै सवारी आवतजावत ठप्प भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार काठमाडौं आउजाउ गर्ने गाडीहरू पनि रोकिएका छन् । उक्त पुलबाट मानिसहरूमात्रै आउजाउ गर्ने अवस्था मात्रै रहेको छ। धादिङमा पृथ्वीराजमार्गका आधा दर्जनभन्दा धेरै ठाउँमा पहिरो खसेर सडक पनि अवरुद्ध भएको छ । उता, चितवनमा पनि ठाउँ ठाउँमा पहिरो झरेर सडक अवरुद्ध भएको छ ।
प्रतिक्रिया दिनुहोस्