काठमाडौं, ९ साउन । प्रहरीले काठमाडौंको बाफलमा युवतीलाई एसिड प्रहार गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले एसिड प्रहार गरेको आरोपमा दुई जनालाई नार्गजुन ४ सिर्जनसिल टोलबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर स्थायी ठेगाना भई हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भएका मुन्ना मोहम्मद रहेको प्रहरीले जनाएको छ । युवतीलाई आफूहरूले मन पराएको तर, उनले अरू नै केटालाई मन पराएको थाहा पाएपछि एसिड प्रहार गरेको उनीहरूले बताएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ । बिहीबार साँझ डेराबाट दही किन्न भनेर निस्किएकी ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको थियो । एसीड प्रहारबाट घाइते युवतीको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्