काठमाडौं, १४ साउन । नेपाली सेनाले सशस्त्र प्रहरी बललाई ६ सय वटा इन्सास राइफल हस्तान्तरण गरेको छ । नेपाली सेनाका युद्धकार्य महानिर्देशक उपरथी राजेन्द्र कार्कीले सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रामशरण पौडेललाई राइफल हस्तान्तरण गर्नुभएको हो ।
सरकारको निर्णयअनुसार क्षमता अभिवृद्धिका लागि सहयोगस्वरुप ती हतियार सशस्त्र प्रहरीलाई प्रदान गरिएको नेपाली सेनाले जनाएको छ । माओवादीको सशस्त्र द्वन्द्वका समयमा यी हतियार भारतबाट ल्याइएको थियो । हाल सशस्त्र प्रहरीसँग ७.६३ एमएमको एसएलआर राइफल रहेको छ । गत असार १५ गते बसेको मन्त्रिपरिषद बैठकले सेनासँग भएका हतियार सशस्त्र प्रहरीलाई दिने निर्णय गरेको थियो ।
सशस्त्र प्रहरीका अनुसार सेनाबाट प्राप्त यी हतियार सीमा क्षेत्रमा खटिने सशस्त्र प्रहरीलाई दिइनेछ । राइफलका साथै नेपाली सेनाले हतियार मर्मतबारे १५ दिने तालिम समेत सशस्त्र प्रहरीलाई दिनेछ । नेपाली सेनाले अमेरिकाबाट १० हजार वटा अत्याधुनिक राइफल खरिद गर्दैछ ।
प्रतिक्रिया दिनुहोस्