काठमाडौं, ७ भदौ । पर्सा र बारामा थप १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर ल्याबमा ३ सय २० वटा स्वाब नमूना परीक्षण गर्दा ३४ जना महिलासहित १५६ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । पर्साका १४५ र बाराका ११ जनामा संक्रमण देखिएको छ । संक्रमितहरु ३ वर्षदेखि ७० वर्ष उमेर समूहका छन् ।
नेशनल मेडिकल कलेज, भवानी र तराई हस्पिटलका गरी ५ जना डाक्टर, जिल्ला प्रहरी कार्यालयका कर्मचारी, नारायणी एफएमका कर्मचारी र जीतपुर आर्मी ब्यारेकका नेपाली सेनामा समेत संक्रमण देखिएको छ । ३४ जना महिलासहित १ सय ४३ जना संक्रमित आइसोलेसनमा छन् । २ सय ४ जना महिलासहित ६१० जना होम आइसोलेसनमा रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
१७ हजार ५ सय १ जनाको स्वाब संकलन गरिएकोमा ३ सय ३० जनाको रिपोर्ट आउन बाँकी छ । शनिबार २ सय ३५ जनाको स्वाब संकलन गरिएको छ ।
पर्सामा हालसम्म कोभिड–१९ को संक्रमणबाट २८ जनाको मृत्यु भएको छ । २८ जनामध्ये एउटा बेवारिसे शवको पहिचान खुलेको छैन ।
प्रतिक्रिया दिनुहोस्