काठमाडौं, १४ भदौ । काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पत्ता लगाउन गरिने प्रयोगशाला परीक्षणको शुल्क घटाएको छ । मन्त्रालयले पीसीआर टेष्टको शुल्क ४ हजार ४ सय रुपैयाँ तोकिएको सहायक प्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिनुभयो । उसअघि पीसीआर परीक्षणका लागि मन्त्रालयले नै ५ हजार ५ सय रुपैयाँ शुल्क तोकेको थियो ।
मापदण्डमा परेकाहरुको मात्र निःशुल्क टेष्ट
सरकारले गर्ने निःशुल्क कोरोना परीक्षणका लागि नयाँ मापदण्ड तोक्ने तयारी मन्त्रालयको छ । सहायक प्रवक्ता अधिकारीका अनुुसार अब संक्रमितको निकट सम्पर्कमा आएका, लक्षण देखिएका र अग्रभागमा काम गर्नेहरुको मात्र निःशुल्क परीक्षण गर्ने तयारी भइरहेको छ ।
यसैवीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित बिरामीलाई विना समन्वय रिफर गर्दा यदि सो बिरामीको ज्यान तलमाथि भएमा रिफर गर्ने अस्पताल नै जिम्मा लिनपर्ने जनाएको छ ।
मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा कतिपय अस्पतालहरुले समन्वय नगरि, स्वास्थ्यकर्मीलाई साथमा नलगाई संक्रमितलाई रिफर गरिरहेको गुनासो आएको र यसो गर्दा बिरामीको ज्यान तलमाथि भए सोको जिम्मेवार रिफर गर्ने अस्पतालको नै हुने बताउनुभयो । उहाँले संक्रमितलाई रिफर गर्दा कोभिड डेलिकेटेड अस्पतालमा वेड भए र नभएको सुनिश्चित गर्न उहाँले सबै अस्पतालाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्