काठमाडौं, १९ भदौ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्रा छोटो विधिबाट सम्पन्न गर्ने सहमति भएको छ । ललितपुर जिल्लामा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षमा बिहीबार बसेको बैठकमा यस्तो सहमति भएको हो ।
सहमतिअनुसार आज १९ गते क्षमा पूजा, २१ गते सुरक्षा सावधानी अपनाउँदै रथ थोरै तान्ने, २२ गते साइत हेर्ने र २६ गते मूर्ति बुङ्गमतीमा पुर्याएर मन्दिरमा बिराजमान गराउने कार्यक्रम रहेको छ । बैठकमा रातो मच्छिन्द्रनाथको जात्रामा प्रत्यक्ष सहभागी हुने १९ वटा सङ्घसंस्थाका प्रतिनिधिसहित ललितपुरका सांसद, सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिको सहभागिता थियो ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले छोटो कार्यविधि गरी जात्रा मनाउने सहमति भएको जानकारी दिनुभयो ।
शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु
बिहीबार केही युवाले रथ तान्न थालेपछि पुल्चोकमा झडप भएको थियो । झडपका क्रममा ललितपुरको पाटन क्षेत्र दिनभर अशान्त बनेपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले ललितपुरको चक्रपथभित्र कर्फ्यु जारी गरेको छ ।
कर्फ्यु शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म लाग्नेछ । जिल्ला प्रशासन कार्यालय ललितपुरबाट जारी विज्ञप्तिअनुसार कर्फ्यु अवधिमा तोकिएको क्षेत्रभित्र भेला, जुलुस, आवतजावत गरेमा कानुनी कारबाही गरिने भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्