काठमाडौं, २५ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयले विगतको कमी कमजोरीबाट शिक्षा लिंदै आगामी दिनमा पार्टी एकताको रक्षा एवम् देशको विकास गर्ने संकल्प लिने निर्णय गर्नुभएको छ । शुक्रबार बस्न गइरहेको स्थायी कमिटी बैठकमा पेश गर्न तयार प्रस्तावमा दुई अध्यक्षले सो संकल्प लिने निर्णय गर्नुभएको हो ।
प्रस्तावमा भनिएको छ, “सबै खाले प्रतिकृयावादी तथा अवसरवादी षडयन्त्र तथा दाउपेचहरुलाई चिर्दै पार्टी एकतालाई अक्षुण्ण राख्ने र जनता एवम् राष्ट्रको हितमा समर्पित, निस्वार्थ एवम् सिद्धान्तनिष्ठ एकताको पक्षमा दृढताकासाथ उभिने प्रतिज्ञा गर्दछ ।” पार्टीको शक्ति र सामथ्र्यलाई ठीक ढङ्गले बुझ्न र व्यक्तिगत हितलाई पार्टी हितको मातहत राख्न नसक्दा अन्तरविरोध देखा परेको स्वीकार्दै अध्यक्षद्वयले त्यसले पार्टीको आन्तरिक एकतालाई कमजोर बनाएको स्वीकार गर्नुभएको छ ।
प्रस्तावमा भनिएको छ, “विभिन्न सन्दर्भमा नेतृत्व तहबाट समेत गम्भीर प्रकृतिका गल्ति, कमजोरीहरु हुन पुगे । पार्टीभित्र उत्पन्न अन्तरविरोधहरु ठीक किसिमले समाधान गर्न नसक्दा संस्थागत प्रवन्ध उलङ्घन हुँदैगयो र आन्तरिक एकता कमजोर भयो ।” भविष्यमा पार्टीको आन्तरिक कमजोरी हुन नदिनेतर्फ पार्टी पङ्ति सचेत हुने प्रतिवद्धता अध्यक्षद्वयले गर्नुभएको छ ।
उहाँहरुले भन्नुभएको छ, “सम्बन्धित सबै नेता, कार्यकर्ता तथा सदस्यहरुलाई आ–आफ्ना गल्ति, कमजोरीप्रति आत्मसमिक्षक र आत्मालोचित हुँदै भविष्यमा त्यसप्रकारका गल्ति, कमजोरीहरु दोहोरिन नदिन निर्देशित गर्दछौं ।” पार्टीको आन्तरिक गुटगत समस्याले पार्टी कमजोर भएको भन्दै अध्यक्षद्वयले पार्टीलाई विधि, द्धति र संस्थागतरुपमा अगाडि बढाउने अठोट गर्नुभएको छ । उहाँहरुले प्रस्तावमा भन्नुभएको छ, “फैलिदै गएको गुटवन्दीको असरलाई विधि, पद्धति र संस्थागत निर्णयको प्रभावकारी कार्यान्वयनद्वारा समाधान गर्ने र सबै प्रकारका अनेकता, अराजकता, अनुशासनहीनता एवम् गुटवन्दीपूर्ण क्रियाकलापलाई नियन्त्रण गर्ने निर्णय गर्दछौं ।” पार्टीको नीति, नेता र कार्यकर्ताका विरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेख्नेर पार्टी हित विपरीत गतिविधि गर्ने प्रवृत्तिलाई कडाईकासाथ रोक्न अध्यक्षद्वयले निर्देश गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्