काठमाडौं, २ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ११ औं वर्ल्ड सोसलिज्म फोरमलाई भर्चुअल (अनलाइन) सम्बोधन गर्नुभएको छ ।
वर्ल्ड सोसलिज्म यलो बुक र वर्ल्ड सोसलिज्म सिरिजको विमोचन समेत गरिएको कार्यक्रम चाइनिज एकाडेमी अफ सोसल साइन्सेस, द वल्र्ड सोसलिज्म रिसर्च सेन्टर, द एकाडेमी अफ मार्कसिज्म र नयां युगमा चिनियां विशेषतासहितको समाजवादबारे सी चिनफिङका विचारसम्बन्धी अनुसन्धान केन्द्र (सी ए एस एस) द्वारा मंगलबार आयोजना गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विश्व कम्युनिष्ट आन्दोलनको अवस्थाबारे प्रकाश पार्दै सामाजिक रुपान्तरणको आवश्यकताबारे जोड दिनुभएको थियो । सी चिनफिङको बुद्धिमतापूर्ण नेतृत्वमा आफ्नै विशेषतासहितको समाजवादको प्रयोग गर्ने क्रममा चिनियाँ कम्युनिष्ट पार्टीले लिएका कदमहरुको प्रचण्डले प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा १० देशका नेता तथा प्राज्ञिक व्यक्तिहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्