बैतडी, ६ फागुन । भागरथी भट्टको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले बुधबार एक किशोरलाई सार्वजनिक गरेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथीको बलात्कारपछि हत्या उनकै आफन्त पर्ने छिमेकी दिनेश भट्टबाट भएको प्रहरीले जनाएको छ । भागरथीको परिवारले भने दिनेश नै अभियुक्त हुन् कि होइनन् भन्नेमा शंका गरेको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीका अनुसार दिनेशले बलात्कार गरी हत्या गरेको स्विकारेका छन् । दिनेश भागरथी पढ्ने सनातन धर्म माविमै कक्षा ११ का छात्र हुन् । उनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको थियो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डिआइजी) उत्तमराज सुवेदीले विभिन्न कोणबाट गरेको अनुन्धानबाट अभियुक्त समात्न सफल भएको बताउनुभयो । “अनुसन्धान शुरु गरेदेखि नै ती व्यक्ति निगरानीमा थिए, सोधपुछ गर्दै जाँदा अन्तिममा उसले अपराध स्वीकार गरेको छ”, उहाँले भन्नुभयो, “आरोपितको बारम्बारको बयान बाझिएको र उनले गरेको गतिविधिले घटनामा उनको संलग्नता पुष्टि भएको छ ।” उहाँका अनुसार शङ्कास्पद गतिविधि, प्राविधिक पक्षको विश्लेषण, लोकेसन, प्रत्यक्षदर्शी र साबिती बयानका आधारमा प्रहरीले आरोपितलाई पक्राउ गरेको छ । डिआइजी सुवेदीले भन्नुभयो, “आरोपी त्यस क्षेत्रमा गएको देख्ने मानिस, लोकेसन ट्याक र स्वीकारी बयानका आधारमा पक्राउ गरेका हौँ ।”
भागरथीको शव परीक्षण रिपोर्टमा भने बलात्कारपछि हत्या गरिएको उल्लेख गरिएको भए पनि दिनेशले भने आफूले बलात्कार नगरेको बयानका क्रममा बताएको छ । प्रहरीले पनि हत्या हो वा बलात्कारपछि हत्या भएको खुल्न नसकेको जनाएको छ । अनुसन्धानकै क्रममा रहेकाले अहिले नै सबै कुरा सार्वजनिक गर्न मिल्दैन डिआइजी सुवेदीले भन्नुभयो, “मृतकको स्वाब परीक्षणका लागि विधिविज्ञान प्रयोगशालामा पठाइएको र रिपोर्ट आएपछि त्यो कुरा पुष्टि होला ।” अस्पतालमा गरिएको पोस्टमार्टम रिपोर्टमा टाउको र हातमा चोट लागेको, मुख र योनीबाट रगत बगेको उल्लेख गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले बताए । उनका अनुसार मृतकको शवको प्रकृतिअनुसार बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको थियो । प्रहरीले थप अनुसन्धानका लागि मृतकको भजाइनल स्वाब, मुखको स्वाब, योनीबाट निस्केको रगतको नमुना परीक्षणका लागि केन्द्रीय विधिविज्ञान प्रयोगशाला पठाएको छ । तर रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
भागरथीले नै अध्ययन गर्ने सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्ने दिनेशले माघ २१ गते भागरथीको पिछा गर्दै लवलेक जङ्गलमा एक्लै भएको मौका छोपेर लडाएर हत्या गरेको खुलेको पत्रकार सम्मेलनमार्फत जनाइएको छ । भागरथीको हत्या गर्ने पूर्वयोजना रहेको र माघ २१ गते विद्यालयबाट अन्तिम कक्षा छोडेर घर फर्किएको, सिल्ल भन्ने स्थानबाट मृतकभन्दा अगाडि गएर सडकमा कुरेर बसेको, आफू रहेको स्थानमा भागरथी पुग्ने बित्तिकै सडकबाट तल धकेल्दै दुवै हातले घाँटी थिचेर हत्या गरेको बयान दिएको डिआइजी सुवेदीले बताउनुभयो । पुरानो घरायसी रिसिइबीका कारण आफूले भागरथीको हत्या गरेको दिनेशले प्रहरीसमक्ष बताएका छन् ।
यसैबीच, दिनेशले बयानका क्रममा पारिवारिक दुस्मनीसमेत रहेको बताएपछि प्रहरीले यसतर्फ पनि अनुसन्धान थालेको जनाएको छ । भागरथीका बुबाको दुई महिनाअघि मात्रै निधन भएको छ । गाउँलेका अनुसार उनले दिनेशका एक आफन्तलाई धेरै वर्षअघि जबर्जस्ती करणी गरेका थिए, जतिबेला दिनेश जन्मिएकै थिएनन् । उक्त घटनामा भागरथीका बुबा केही समय जेल बसेर निस्किएको एक स्थानीयले बताए ।
कर्तव्य ज्यान र बलात्कारसम्बन्धी जाहेरी दर्ता
मृतक भागरथीका दाजु शङ्कर भट्टले आज दिनेशविरुद्ध कर्तव्य ज्यान र बलात्कारसम्बन्धी कसुरमा कारवाहीका लागि जाहेरी दर्ता गरेकाले अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दिनेशलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत बैतडीले प्रहरीलाई अनुमति दिएको छ ।
प्रहरीले दिनेशलाई नै अपराधी हो भनेर पक्राउ गरेपछि आफूले जाहेरी दिएको शङ्करले बताउनुभयो । उहाँले भन्नुभयो, “दिनेश एक्लैले त्यतिसम्म ग¥यौँ होला भन्ने विश्वास त छैन, प्रहरीले अपराधी त्यही हो भनेपछि हामीले जाहेरी दिएका हौँ ।” घटनाको अनुसन्धानका लागि डिआइजी सुवेदीसँगै एसएसपी जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीलगायतको टोली खटिएको थियो ।
आफन्तद्वारा अझै पनि शव बुझ्न अस्वीकार
प्रहरीले अभियुक्त सार्वजनिक गरेको भए पनि भागरथीका आफन्तले भने अझै पनि शव नबुझ्ने बताएका छन् । उनको शव जिल्ला अस्पताल बैतडीमा रहेको छ । अपराधी भनेर प्रहरीले सार्वजनिक गरिएका दिनेशले हत्या मात्रै गरेको बताएकाले बलात्कारीको खोजी गर्नुपर्ने आफन्तको माग छ । “दिनेशले हत्या मात्रै गरेको स्वीकारेको छ तर परीक्षण रिपोर्टमा बलात्कारपछि हत्या गरिएको भनिएको छ”, भागरथीका काका शिवराज भट्टले भन्नुभयो, “परीक्षण रिपोर्टले बलात्कारपछि हत्या भनेको छ, हत्यारा पत्ता लागेको भए पनि बलात्कारीलाई पनि खोज्नुपर्छ, बलात्कारी पत्ता नलाग्दासम्म शव बुझ्दैनौँ ।”
गत माघ २१ गते विद्यालयबाट घर फर्किएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दा माघ २२ गते बेलुका स्थानीय लवलेक जङ्गलमा निर्वस्त्र र वीभत्स अवस्थामा शव फेला परेको थियो । यता भागरथीको शव भेट्टिएको दिनदेखि नै आन्दोलनमा रहेका आन्दोलनकारीले प्रहरीले चित्त बुझ्दो प्रमाणसहित सार्वजनिक नगरिएको भन्दै आपत्ति जनाएका छन् । भागरथी भट्टको न्यायका लागि गठित सङ्घर्ष समितिका संयोजक निशा भट्टले दिनेश नै अपराधमा संलग्न थिए भन्ने कुरा प्रमाणित गर्नुपर्ने बताउनुभयो ।
यस्तै सङ्घर्ष समितिका सदस्य भोजराज जोशीले हत्यारा पत्ता लागे पनि बलात्कारी पत्ता नलागेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो घटनामा एउटै व्यक्तिको संलग्नता हुनै सक्दैन, बलात्कारी पनि सार्वजनिक गर्नुपर्छ ।”
भागरथी मारिएको ठाउँबाट करिब १५–२० मिनेटको पैदल दूरीमा दिनेशका दुई घर छन् । घटनापछि उनी बस्न छाडेको पुरानो घर र अलि पछिमात्र सधैं बस्ने घर गएका थिए । भागरथी र उनको घरको दूरी दुई मिनेटको मात्रै छ । घर पुगेपछि उनी केही नभएजस्तो गरेर गाउँमा हिँडडुल गरेका थिए । ‘भागरथीको शव भेटिएकै दिन दोषी पत्ता लगाउन विद्यार्थी र स्थानीयले गरेको नाराबाजीमा अभियुक्त पनि संलग्न भएको पाइएको छ,’ डीआईजी सुवेदीले भन्नुहुन्छ , ‘त्यसपछि भने उनी खासै घटनास्थलमा गएका छैनन् । अनुसन्धानका लागि कुकुर ल्याएको थाहा पाएपछि घटनास्थल नगएको बुझिएको छ ।’
शव भेटिएको दिन माघ २३ गते बन्द भएका विद्यालय तीन दिनपछि खुलेका थिए । दिनेश २६ गतेपछि नियमित विद्यालय जाने गरेका थिए ।
मृतकको टाउको र खुट्टाको चोट, घाँटी दबाएको डाम, छातीमा दाँतले टोकेको अवस्थामा शव भेटिएको थियो । दिनेशको शरीरमा पनि चिथोरेका स–साना घाउ भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीका अनुसार अनुसन्धान सुरु भएबाटै शंकास्पद देखिएपछि प्रहरीले उनीमाथि उच्च निगरानी राखेको थियो । प्रहरी प्रमुख अधिकारीका अनुसार किटानी जाहेरीमा दिनेशको उमेर अन्दाजी १८ वर्ष भनिएको छ भने भागरथी बेपत्ता भएपछि खोजीका लागि परिवारले दिएको निवेदनमा भागरथीको उमेर १७ वर्ष उल्लेख छ । दुवैको उमेर यकिन गर्न जन्मदर्तालगायत कागजात जुटाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्