काठमाडौं, २७ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथमा दर्शनार्थीलाई सहज रूपमा पूजाआजाको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले बताएको छ ।
बिहीवार महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थी तथा भक्तजनको भिड लागेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष दर्शनार्थीलाई मन्दिर दर्शनका लागि छिटो र सहज हुने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले बताएको छ ।
११ उपसमिति गठन गरी राम्रो व्यवस्थापन गरिएको महाशिवरात्रि पर्व व्यवस्थापन समितिका प्रवक्ता रेवतीरमण अधिकारीले बताउनुभयो । एकीकृत रूपमा सुरक्षा संयन्त्र परिचालन गरी सुरक्षाको प्रबन्ध मिलाइएको, स्वयंसेवक पर्याप्त मात्रामा परिचालन गरिएको, भोजन, अवास, पानीको व्यवस्थापन मिलाइएको तथा स्वास्थ्य शिविर सञ्चालन गरिएको उहाँले बताउनुभयो । ज्येष्ठ नागरिक तथा शारीरिक रूपमा अशक्त व्यक्तिका लागि सुरक्षाकर्मी र स्वयं सेवकको सहयोगमा छिट्टै दर्शन गर्न सकिने व्यवस्था मिलाइएको छ ।
अघिल्ला वर्षको तुलनामा यस वर्ष दर्शन गर्न सहज भएको दर्शनार्थी तथा भक्तजनले बताएका छन् । महाशिवरात्रि पर्वको अवसरमा उल्लेख्य रूपमा साधुसन्त तथा भक्तजनको उपस्थिति रहेको छ । कोभिड–१९ को सङ्क्रमणबाट बच्न अनिवार्य मास्कको प्रयोग गर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्