काठमाडौं, २८ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाउनु भएको छ । साथै माओवादी केन्द्रबाट आउनुभएका रामबहादुर थापा बादललाई वाग्मती प्रदेशको इन्चार्ज को जिम्मेवारी तोकिएको छ । असार २०७१ मा भएको एमालेको नवौं महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
उपाध्यक्षमा विद्या भण्डारी, बामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल, महासचिवमा ईश्वर पोखरेल, उपमहासचिवमा विष्णु पौडेल र घनश्याम भुसाल तथा सचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, भीम आचार्य, योगेश भट्टराई र गोकर्ण विष्ट चुनिनु भएको थियो ।
३ जेठ २०७५ मा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बनेपछि ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष तथा विष्णु पौडेल महासचिव बन्नु भएको थियो । नेकपामा बामदेवलाई उपाध्यक्ष मनोनित गरिएको थियो ।५ पुसमा प्रधानमन्त्री ओलीको सिफारिसमा संसद विघटन भएसँगै नेकपा ओली र प्रचण्ड–माधव समूहमा विभाजित भयो । यसको आधिकारिकता विवाद नटुंगिँदै २३ फागुनमा सर्वोच्चले नेकपा खारेज गर्दै एमाले र माओवादी ब्युँताउने फैसला सुनायो ।
त्यसको पाँच दिनपछि एमाले अध्यक्ष ओलीले आफू निकट नेताहरुको बैठक राखेर महासचिव ईश्वर पोखरेलबाहेक अरु पदाधिकारी नरहने निर्णय गराउनु भएको छ । साथै पार्टी प्रवक्तामा प्रदीप ज्ञवाली तोकिएका छन् भने बाग्मती प्रदेशको इन्चार्जमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापा बादल नियुक्त गरेका ओली समूहका एक नेताले जानकारी दिनुभयो । जसअनुसार प्रदेश १ मा सुवासचन्द्र नेम्वाङ, प्रदेश दुईमा सत्यनाराण मण्डल, प्रदेश चारमा पृथ्वीसब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा यमलाल कडेँल र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई इन्चार्ज बनाउने निर्णय गरेको छ । बादल समूहका नेताहरुलाई एमालेको केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णय पनि भएको छ । साबिकको नेकपा दुई खेमामा विभाजित हुँदा ओलीतिर लागेका बादलसहितका नेताहरु माओवादी केन्द्र फर्किनु भएको थिएन ।
प्रतिक्रिया दिनुहोस्