काठमाडौं, ३ चैत्र । नेकपा एमालेका प्रचार प्रसार विभाग प्रमुख एवं माधव नेपाल समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबारको कार्यकर्ता भेलामा प्रमुख अतिथिको रुपमा सहभागी हुन आग्रह गर्नुभएको छ । नेपाल समूहले बुधाबार आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टराईले पार्टी अध्यक्ष समेत रहेका ओलीलाई कार्यक्रममा नजर नलगाई प्रमुख अतिथिका रुपमा सहभागी हुन आग्रह गर्नुभएको हो ।
मंगलबार बालुवाटारमा आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री ओलीले भोलिको भेलामा उहाँहरू कति तमासा गर्नुहुन्छ, एक नजर त्यता राखिनेछ भन्दै भेलामा सहभागी नहुन नेता, कार्यकर्तालाई आग्रह समेत गर्नुभएको छ । नेपाल पक्षले चैत ४ र ५ गते आफू पक्षीय कार्यकर्ताहरुको राष्ट्रिय भेलाको आयोजना गर्दैछ ।
भेलामा दुई हजारभन्दा बढी अगुवा कार्यकर्ताहरुको सहभागिता हुने नेता भट्टराईले बताउनुभयो । उक्त भेलामा कमिटी र मञ्चका सदस्यहरु, गाउँ तथा नगर कमिटीका अध्यक्ष र सचिवहरु, जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिका प्रमुख तथा उपप्रमुखहरु, जनसंगठन तथा पेशागत संगठनका केन्द्रीय सचिवालयका सदस्यहरुका साथै प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारीहरु गरी दुई हजारभन्दा बढी अगुवा कार्यकर्ताहरुको सहभागिता हुने नेपाल पक्षले बताएको छ । फागुन २८ गते ओली पक्षको एकलौटी निर्णयप्रति असन्तुष्टि जनाउँदै नेपाल र गौतम समूहले मंगलबार ओलीले आयोजना गरेको चियापान कार्यक्रम बहिष्कार गरेका थिए ।
सोमबार मात्रै अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भेटवार्ता भएको थियो । नेताहरुले उक्त भेट सकारात्मक भएको बताए पनि दुवै पक्ष आफ्ना अडानबाट पछि नहट्दा नेताहरुबीचको तिक्तता भने कम भएको छैन । सोमबारको भेटमा अध्यक्ष ओलीले नेपाललाई चैत ४ र ५ गते डाकिएको राष्ट्रिय भेला रोक्न आग्रह गरेका थिए । तर नेपालले भने फागुन २८ गते गरेको एकपक्षीय निर्णय सच्याए मात्रै उक्त भेला रोक्न सकिने बताउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्