काठमाडौं, ५ चैत । नेकपा एमालेको माधव नेपाल समूहले देशभरका पार्टी कमिटी ब्युँताउने घोषणा गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गर्न खोजेको भन्दै देशभरका ४ हजारभन्दा बढी नेता–कार्यकर्ताको दुई दिने भेला गरेको यो समूहले सर्वोच्च अदालतको आदेशअनुसार पार्टीलाई २ जेठ २०७५ मा फर्काउने र सबै कमिटी ब्युँताउने बताएको हो ।
भेलाको अन्तिम दिन बिहीबार भेलामा सहभागीहरुलाई सम्बोधन गर्दै उपमहासचिव घनश्याम भुसालले भन्नुभयो, ‘अब जन संगठन र पार्टी कमिटी जेठ २ कै अवस्थामा ब्युँताउँछौं ।’ पार्टीको धेरै कमिटीमा आफूहरुको नेतृत्व भएपनि केहीमा हारेको भन्दै उहाँले त्यस्ता कमिटीमा भएका आफ्नो पक्षका नेताकै संयोजकत्वमा कमिटी बनाउने बताउनुभयो । उहाले ‘हामी अधिकारिक हौं, उनीहरु समानान्तर हुन, गुटबन्दी हुन् ।’ यसरी एकाध महिना काम गर्ने हो भने एमाले पार्टीलाई बचाउन सक्ने र ओलीवाद हार्ने उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्