काठमाडौं, ९ बैशाख । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित पाँच जना सांसदले संसदीय दलका नेता केपी शर्मा ओलीलाई स्पष्टीकरण बुझाउनु भएको छ । नेता नेपालसहित झलनाथ खनाल, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र भवानी खापुङले संसदीय दलको कार्यालय सिंहदरबारमा स्पष्टीकरण बुझाउनुभएको हो ।
इमेलबाट प्राप्त स्पष्टीकरणको जवाफ लेख्दै आफुहरुमाथि लगाइएको आरोप निराधार भएको जिकिर गरेका छन् । नवौं महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदन, विधान तथा त्यसबाट निर्मित नियमावली विरुद्ध आफुहरुले कुनै काम नगरेको स्पष्टीकरणमा उल्लेख गरिएको छ ।
नेता सुरेन्द्र पाण्डेले बुझाएको स्पष्टीकरणमा भनिएको छ, ‘सर्वोच्च अदालतको फैसलाको सम्मान गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पार्टी कमिटीहरु तथा जनसंगठनका सबै संरचनाहरुलाई पूर्ववत् क्रियाशील तुल्याउनु पर्छ भन्ने मान्यता राख्दै श्री सर्वोच्च अदालतको फैसलाबाट पुनर्जिवित भएका ती पूर्व कमिटीका गतिविधिमा मेरो संलग्नता रहनु हाम्रो पार्टीको विधान सम्मत गतिविधि हो।’
दुई दिनअघि प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित २७ जना सांसदलाई स्पष्टीकरण सोध्नुभएको थियो । संघीय संसदको सदस्य पदबाट किन नहटाउने भन्ने प्रश्न गर्दै कारण खुलाएर तीन दिनभित्र स्पष्टीकरण दिन ओलीले मंगलबार लिखित पत्र दिएका हुन्।
पार्टीविपरीत हुने गरी र लोकप्रिय सरकारविरूद्ध गतिविधि गरेकोले जुनसुकै बेला थप कारबाही गर्न सकिने चेतावनी पनि उनीहरूलाई दिइएको थियो। माधव नेपाल, झलनाथ खनाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, पवित्रा निरौला, झपट रावल, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, भवानी खापुङ, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, नारायण खतिवडा, गणेश पहाडी, जयकुमार राई, दिपकप्रकाश भट्ट, योगेशकुमार भट्टराई, हिराचन्द्र केस, पुष्पाकुमारी कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, कृष्णलाल महर्जन, सरलाकुमारी यादव, नीरादेवी जैरु, रामकुमारी झाँक्री र मुकुन्द न्यौपानेलाई स्पष्टीकरण सोधिएको हो।
प्रतिक्रिया दिनुहोस्