काठमाडौं, १४ बैशाख । भक्तपुरमा पहिलो पटक कोरोना खोप लगाएका ३१ जनामा पुनः कोरोना पोजेटिभ देखिएको छ। सोमबार एक सय १८ जनामा कोरोना संक्रमण देखिएकोमा ३१ जना कोरोना खोप लगाएका व्यक्तिहरु रहेको भक्तपुर जिल्ला जनस्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिनुभयो। पोजेटिभ देखिएकाहरुमा खोप लगाएको एक हप्ताभित्रका व्यक्तिहरु रहेको मिजारले बताउनुभयो । तथापि खोप नलगाएका बिरामीको तुलनामा खोप लगाएका बिरामीमा असर कम हुने उहाँले बताउनुभयो । जिल्लामा सोमबारसम्म सात सय ७५ जना सक्रिय कोरोना संक्रमित देखिएको छ त्यसमा चार सय ३७ पुरुष र तीन सय ३८ जना महिला रहेको जनाइएको छ। उहाँका अनुसार जिल्लामा अस्पतालमा ५१ जना बिरामी छन् भने होम आइसोलेसनमा सात सय २४ जना छन्। कोरोनाबाट जिल्लामा हालसम्म एक सय २९ जनाको मृत्यु भइसकेको छ।
प्रतिक्रिया दिनुहोस्