काठमाडौं, १५ वैशाख । सरकारले कोरोना भाइरस संक्रमणको दोस्रो लहर नियन्त्रणका लागि १० जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञाको आदेश जारी गरेको छ ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शहरी क्षेत्रमा ५ सय र पहाडमा २ सय जना सक्रिय संक्रमित भए प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा लगाउन सक्ने निर्णय गरेको थियो । त्यही निर्णयमा टेकेर स्थानीय प्रशासन ऐनमा भएको व्यवस्थाअनुसार प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा लगाउने आदेश जारी गरेका छन् ।
गृह मन्त्रालयबाट प्राप्त विवरण अनुसार मंगलबारसम्ममा ११ जिल्लामा पूर्ण र दुई जिल्लामा आंशिक निषेधाज्ञा छ । काठमाडौं, भक्तपुर, ललितपुर, बाँके, दाङ, कैलाली, रुपन्देही, पर्सा र सुर्खेतमा पूर्ण निषेधाज्ञा छ । कास्कीमा पनि निषेधाज्ञा छ, सवारीसाधनमा जोर–विजोर प्रणाली लगाइएको छ ।
बर्दिया, बाग्लुङ र कालिकोटमा चाहिँ आंशिक निषेधाज्ञा छ । बर्दियाको गुलरिया नगरपालिका–५ र ६, बाँसगढी नगरपालिकाको बाँसगढी बजार क्षेत्र, बारबर्दिया नगरपालिकाको जयनगर र कतर्निया बजार क्षेत्रमा निषेधाज्ञा छ ।
त्यस्तै, ठाकुरबाबा नगरपालिकाको बगनाहा, भुरीगाउँ र ठाकुरद्वारा बजार क्षेत्र, राजपुर नगरपालिकाको राजापुर मानपुर टपरा बजार क्षेत्रमा निषेधाज्ञा छ । बढैयाताल गाउँपालिकाको भोलागौडी, मैनापोखर र शीतला बजार क्षेत्र र गेरुवा गाउँपालिकाको शान्तिबजार र पशुपतिनगर बजार क्षेत्रमा निषेधाज्ञा लाइएको छ ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय, बाग्लुङले पनि बाग्लुङ नगरपालिकाको वडा नं. ३ मा निषेधाज्ञा लगाएको छ भने कालिकोटको खाँडाचक्र नगरपालिकाको वडा नं. ११ मा निषेधाज्ञा छ ।
कालिकोटमा ५ जना व्यक्ति संक्रमण देखिँदा फैलिनसक्ने भन्दै निषेधाज्ञाको आदेश जारी गरिएको छ । मंगलबार साँझसम्ममा चितवनमा पनि सक्रिय संक्रमित संख्या ५ सय पुगिसकेको छ, तर प्रशासनले कुनै आदेश जारी गरिसकेको छैन ।
सोमबार बसको मन्त्रिपरिषद् बैठकले एकसाता निषेधाज्ञाले मात्रै महामारीको चेन ब्रेक नहुने भन्दै थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरिसकेको छ ।
के–के छ निषेध ?
जिल्लाअनुसार फरकफरक आदेश भएपछि अधिकांश सर्तहरु एकैकिसिमका छन् । निषेधाज्ञाको समयमा जिल्लाहरुमा खाद्य सामग्री, औषधि पसलबाहेक सबै व्यवसाय बन्द हुनेछन् । अतिआवश्यक सवारीसाधनहरु मात्रै चल्नेछन् ।
सबै प्रकारका सभा सम्मेलन, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, संग्रहालय, चिडियाखाना बन्द गरिनेछन् ।
सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवा दिने कार्यालय सञ्चालन हुनेछ । सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले परिचयपत्र देखाएर आवतजावत गर्न सक्नेछन् ।
अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन चल्न पाउनेछन् ।
कहाँ–कहाँ कहिलेदेखि निषेधाज्ञा ? हेर्नुस् सूची
सि.नं | जिल्ला/क्षेत्र | समयावधि | कैफियत |
१. | काठमाडौं | १६ गतेदेखि २२ गतेसम्म | |
२. | भक्तपुर | १६ गतेदेखि २२ गतेसम्म | |
३. | ललितपुर | १६ गतेदेखि २२ गतेसम्म | |
४. | बाँके | १३ गतेदेखि २० गतेसम्म | |
५. | दाङ | १७ गतेदेखि २५ गतेसम्म | |
६. | कैलाली | १६ गतेदेखि २२ गतेसम्म | |
७. | रुपन्देही | १६ गतेदेखि २९ गतेसम्म | |
८. | पर्सा | १६ गतेदेखि २२ गतेसम्म | |
९. | कास्की | १५ गतेदेखि २१ गतेसम्म | जोर–विजोर |
१०. | सुर्खेत | १५ गतेदेखि २१ गतेसम्म | |
११. | बर्दिया | १३ गतेदेखि २० गतेसम्म | आंशिक निषेधाज्ञा |
१२. | बाग्लुङ | ७ गतेदेखि १७ गतेसम्म | बाग्लुङ नपाको ३ वडामा मात्र |
१३. | कालिकोट | १० गतेदेखि १७ गतेसम्म | खाँडाचक्र नपा ११ मा मात्र |
प्रतिक्रिया दिनुहोस्