काठमाडौं, १५ बैशाख । नेपालमा कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा चार हजार आठ सय ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजार नौ सय दुई पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।
पछिल्लो २४ घण्टामा १३ हजार आठ सय ७९ जनाको पीसीआर परीक्षण गर्दा चार हजार सात सय ७४ र नौ सय ५५ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । आज सङ्क्रमण पुष्टि भएकामध्ये दुई हजार ४७ जना काठमाण्डौ उपत्यकाका रहेका छन् । पछिल्लो २४ घण्टामा सात सय ७३ जना कोरोना सङ्क्रमित निको भएका छन् । आज बुधबार नेपालमा पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमितको मूत्यु भएको छ ।
काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा २ हजार ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १ हजार ४६४, भक्तपुरमा २३२ र ललितपुरमा ३५१ जनामा गरी कुल २ हजार ४७ जना थपिएको जानकारी दिएका हुन् । यसअघि हिजो काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा गरी १९ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया दिनुहोस्