काठमाडौं, २८ साउन । पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारले ल्याएको श्वेतपत्रले अघिल्लो सरकारको तथ्यहीन आलोचना गरेको र पूर्वाग्रह राखेको टिप्पणी गरेका छन् । अर्थमन्त्री जनादर्न शर्माले मंगलबार प्रतिनिधिसभामा देशको वर्तमान आर्थिक अवस्थाको जानकारीु प्रस्तुत गरेका थिए । प्रतिनिधिसभाको बिहीबारको बैठकमा पूर्वअर्थमन्त्री पौडेलले भने, अघिल्लो सरकारका कामहरूका बारेमा तथ्यहीन आलोचना र विरोध गरिएको छ । पूर्वाग्रही छ ।मुलुकको वर्तमान आर्थिक अवस्थाबारे यथार्थ जानकारी दिनेभन्दा पनि त्यसबाट विषयान्तर भएर पूर्ववर्ती सरकारको आलोचनामा मात्रै सीमित भएको पौडेलको भनाइ थियो । अर्थमन्त्री शर्माले प्रस्तुत गरेको स्वेतपत्रमा अर्थ मन्त्रालय, राष्ट्र बैंक, तथ्यांक विभाग, महालेखाका तथ्यांकले खण्डन गर्ने गरी तथ्य नभएको पौडेलले बताए ।राजनीतिक दलहरूबिच नीति, विचार र दृष्टिकोणमा मतभिन्नता हुन सक्ने तर मुलुकको आर्थिक अवस्थ कस्तो छ भन्ने कुरा तथ्यमा रहने कुरा स्मरण पौडेलले गराए ।
तथ्यको तोडमोड गरेर अर्थमन्त्री शर्माले स्वेतपत्र जारी गरेको पौडेलको भनाइ थियो । मुलुकको अर्थतन्त्रसँग सम्बन्धित तथ्यांकको आफ्नो सुविधाअनुसार प्रयोग गरिएको पनि उनले बताए । अघिल्लो सरकारले कोभिडको बेलामा पनि अर्थतन्त्रलाई सही दिशामा लगेको भन्दै कोभिडकालमा नेपालमा मात्रै नभएर विश्वमै अर्थतन्त्र प्रभावित भएको उनको भनाइ थियो ।अघिल्लो सरकारले आर्थिक क्षेत्रमा प्राप्त गरेका सफलतालाई वर्तमान सरकारले बेवास्ता गरेको पनि पौडेलले बताए ।आफूले अध्यादेशमार्फत लोकप्रिय बजेट ल्याएको र त्यसलाई निजी क्षेत्रले पनि समर्थन र स्वागत गरेको भन्दै नयाँ बजेट ल्याउने भए त्योभन्दा राम्रो ल्याउन पौडेलले सुझाव दिए । कोभिडबाट प्रभावित अर्थतन्त्रलाई उत्थान गर्न, कोरोना संक्रमितको उपचार गर्न र सबैले मन पराउने बजेट ल्याउनका लागि उनले सुझाव दिए । अर्थतन्त्रलाई चलायमान र गतिशील बनाउने बजेट ल्याउनुस् जसले हामीलाई पनि स्वागत गर्न मिलोस् ।
प्रतिक्रिया दिनुहोस्