काठमाडौं, २९ पुस । ट्विटरका नयाँ मालिक इलोन मस्कले सबैभन्दा धेरै व्यक्तिगत सम्पत्ति गुमाएर नयाँ विश्व कीर्तिमान राखेका छन् । विश्व कीर्तिमानहरूको अभिलेख राख्ने गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले आफ्नो वेबसाइटमा प्रकाशित गरेको ब्लगमा यसबारे विस्तृतमा उल्लेख गरिएको छ ।
गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सका अनुसार मस्कले सन् २०२१ को नोभेम्बर देखि २०२२ को डिसेम्बर बीचमा १६५ अर्ब अमेरिकी डलर गुमाएका छन् । त्यहाँ उल्लेख गरिएका विवरणहरू प्रकाशक फोर्ब्सबाट प्राप्त तथ्याङ्कमा आधारित छन्। तर गिनिजले अन्य स्रोतहरूबाट प्राप्त विवरणमा मस्कले गुमाएको सम्पत्ति अझै धेरै हुनसक्ने देखिएको बताएको छ ।
गत वर्ष मस्कले ट्विटर खरिद गरेपछि उनको विद्युतीय कार कम्पनि टेस्लाको शेयर मूल्य ह्वात्तै घटेको थियो । सामाजिक सञ्जाल कम्पनी ट्विटर खरिद गर्न मस्कले ४४ अर्ब अमेरिकी डलर खर्च गरेपछि टेस्लाका लगानीकर्ताहरूमाझ अब उनले आफ्नो कार कम्पनीमा धेरै ध्यान केन्द्रित नगर्ने चिन्ता व्यापक भएको थियो ।
मस्कको सम्पत्तिमा आएको गिरावटले सन् २००० मा जापानी प्रविधि लगानीकर्ता मासायोशी सोनले गुमाएको ५८.६ अर्ब अमेरिकी डलरको कीर्तिमान भङ्ग गरेको हो । उनले गुमाएको सम्पत्तिको अनुमानित विवरण मस्कको स्वामित्वमा रहेका शेयरमा आएको गिरावटमा आधारित छ। तर शेयरको मूल्य पुनः बढ्न पनि सक्छ र मस्कले गुमाएको सम्पत्ति फेरि बढ्न सक्छ । गत डिसेम्बरमा मस्कले विश्वकै सबैभन्दा धनी व्यक्तिको हैसियत गुमाएका थिए ।
मस्कलाई फ्रान्सेली विलासी सामग्री उत्पादक कम्पनी एलभीएमएचका मालिक बेअर्नार अर्नोले उछिनेका थिए । यो कम्पनीले चर्चित फ्याशन ब्रान्ड लुई भुइटोँका सामग्रीहरू उत्पादन गर्छ । सन् २०२२ मा टेस्लाको शेयरमा ६५ प्रतिशतसम्म गिरावट आएको थियो ।
उक्त उत्पादकले गत वर्ष जम्मा १३ लाखवटा गाडी मात्रै बजारमा पुर्याएका कारण पनि यसको शेयर मूल्य घट्न पुगेको हो । मस्कले ट्विटर खरिद गरेलगत्तै ठूलो सङ्ख्यामा कर्मचारीहरूलाई बर्खास्त गर्ने र सामग्री मध्यस्थता नीतिमा ल्याएको परिवर्तनका कारण उत्पन्न विवादले पनि शेयरमा गिरावट आएको छ।
प्रतिक्रिया दिनुहोस्