काठमाडौं १७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई रास्वपाका सभापति रवि लामिछानेले आज बिहान भेटेर आफूलाई गृहमन्त्रीमा नियुक्त गर्न अनुरोध गरेका छन् ।
नागरिकता विवादका कारण उपप्रधानमन्त्री र गृहमन्त्री पद सहित सांसद पद समेत गुमाएका रविले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नागरिकता लिएपछि प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।
रास्वपाले पुनः गृहमन्त्रीमा दाबी गरे पनि प्रधानमन्त्री प्रचण्ड उक्त मन्त्रालय आफैंसँग राख्ने मनस्थितिमा रहेका समाचारहरु सार्वजनिक भइरहेका छन् । आजको भेटमा लामिछानेले आफूले जस्तो सहयोग पनि गर्न तयार रहेको भन्दै प्रचण्डसंग आफूलाई गृहमन्त्रीमा नियुक्त गर्न आग्रह गरेका हुन् । प्रधानमन्त्री भने रविको दोहोरोँ राहदानीको विषय समाधान नभएसम्म पुनः गैर सांसदलाई र स्वार्थ बाझिने गरी मन्त्री नियुक्त गर्न तयार छैनन् ।
यस अघि उनले पटक पटक एमाले अध्यक्ष केपी शर्मा ओली र राजेन्द्र लिंगदेन संग भेटेर आफ्नो पुन नियुक्ति गराउन प्रधानमन्त्रीलाई दबाव दिन आग्रह गर्दै आएका छन् ।
‘हाम्रो सभापतिले बेलुकीसम्म निर्णय गर्न प्रधानमन्त्रीलाई भन्नुभएको छ,’ रविनिकट एक नेताले भने, ‘हामीलाई गृह मन्त्रालय नदिए आजै बेलुकी पत्रकार सम्मेलन गरेर सरकारमा नरहेको घोषणा गर्छौं र समर्थन पनि फिर्ता लिन्छौं।’
नागरिकता विवादमा गत शुक्रबार सर्वोच्च अदालतले आदेश दिएपछि उनी मन्त्री, सांसद र सभापति पदबाट बाहिरिएका थिए।
लगत्तै आइतबार नागरिकता लिएका लामिछाने पार्टी सभापतिको जिम्मेवारीमा फर्किसकेका छन्। यद्यपि उनी गैरसांसद मन्त्रीको रुपमा क्याबिनेट पुनः प्रवेश गर्न दौडधुप गरिरहेका छन्।
रास्वपाका महामन्त्री मुकुल ढकाल भने पहिले प्रधानमन्त्रीले गृहमन्त्रीको नाम मागेपछि मात्र गैर सांसद पठाउने कि सांसद पठाउने भन्ने आफूहरुले निर्णय गर्ने औपचारिक प्रतिक्रिया दिएका छन् । तर रबिले आफूलाई गृहमन्त्री नदिने हो भने आफू किन सरकारमा बस्ने भन्दै प्रधानमन्त्रीसंग घुर्की लगाएर हिंडेको बालुवाटार स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्