वालिङ, १० फागुन । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आफू अहिले निर्णायकको भूमिकामा रहेकाले अब्बल निर्णायक भएर देखाउने बताएका छन् ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाद्वारा आज मिर्मीमा आयोजित खेलकुद महोत्सव एवम् अध्यक्ष कप प्रतियोगिता, २०७९ को उद्घाटन गर्दै उनले निष्पक्षताका साथ अब्बल निर्णायकको भूमिका निर्वाह गर्ने बताएका हुन् ।
प्रतिनिधिसभाको सभामुखको भूमिकामा आफू रहेसँगै निष्पक्षताका साथ भूमिका निर्वाह होस् भन्ने धेरैको कामना रहेको भन्दै उनले आफू त्यो भूमिकामा अब्बल भएर देखाउने बताए । “म अहिले अम्पायरको भूमिकामा छु र अब्बल अम्पायर भएर देखाउने छु,” उनले भने, “तर, त्यसका लागि खेलाडी र टिमले राम्रो प्रदर्शन गर्नुपर्छ । विजयी हासिल गर्ने काम टिम र खेलाडीमाथि भर पर्छ ।”
जनताले गरेका अपेक्षा पूरा गर्नका लागि तयार रहेको उनले बताए । भौतिक पूर्वाधार, बाटोघाटो, खेलमैदानको विकास तथा संस्कार संस्कृतिको संरक्षण र प्रवर्द्धनमा यहाँका स्थानीयवासीले आफूप्रति राखेको अपेक्षा पूरा गर्नका लागि सहजीकरण गर्ने उनले बताए ।
खेल जीवनको अभिन्न अंग जीविकाको आधार तथा राष्ट्रकै पहिचान बनाउन सक्ने भएकाले यसलाई व्यावसायिकतातर्फ जोड्दै जानुपर्नेमा उनले जोड दिए ।
प्रतिक्रिया दिनुहोस्