काठमाडौँ, ११ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसभा सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ भएको भेटका क्रममा आगामी राष्ट्रपतिको निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
निर्वाचन आयोगले फागुन १३ गते राष्ट्रपति पदनको मनोनयन दर्ता र फागुन २५ मा राष्ट्रपतिको निर्वाचन गर्ने तालिका तय गरेको छ ।
राष्ट्रपतिको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलका शीर्ष नेताहरूले भेटघाटलाई भने तीव्र बनाएका छन् । सभापति देउवाले प्रधानमन्त्री प्रचण्डलाई भेट्नुअघि आफ्नै निवासमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूसँग भेट गरेका थिए ।
यस्तै, सभापति देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव तथा लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूसँग समेत छलफल गरेका थिए ।
राष्ट्रपतिको निर्वाचनमा निर्णायक मत रहेको नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सहमति खोजिरहेको छ भने अन्य दलहरूले आ–आफ्नो पार्टीको दाबी रहेको बताउँदै आएका छन् । राष्ट्रपतिको निर्वाचनलाई लिएर बुधबारनै प्रधानमन्त्री प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको थियो ।
प्रतिक्रिया दिनुहोस्