काठमाडौँ, १२ फागुन । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । शुक्रबार बिहान ११ बजेका लागि नयाँ बानेश्वरस्थित लोत्से हलमा संसदीय दलको बैठक बोलाइएको छ ।
सम्पत्ति शुद्धीकरण संशोधन विधेयकबारे पार्टीको साझा धारणा बनाउन दलको बैठक बोलाइएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए । सो विधेयकमाथि संशोधन हाल्न दिइएको ७२ घन्टाको समयसीमा आज सकिन लागेकाले कांग्रेसले विज्ञको राय लिन लागेको हो ।
सम्पत्ति शुद्धीकरणका नेतृत्व सम्हालिसकेका प्रेमप्रसाद भट्टराई, राष्ट्र बैंकको निर्देशक हरि नेपाल, नेपाल कानुन आयोगका अध्यक्ष तथा पूर्वकानुनमन्त्री माधव पौडेल, वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी र सर्वोच्च बार एसोसिएसनका कार्यसमिति सदस्य रेशम रेग्मीलाई बैठकमा बोलाइएको छ ।
प्रमुख सचेतक लेखकका अनुसार उनीहरूले कांग्रेस सांसदहरूलाई सम्पत्ति शुद्धीकरण विधेयकबारे सुझाव दिने छ । कांग्रेसले संसद्मा आएका हरेक विधेयकमाथि आगामी दिनमा पनि सम्बन्धित विज्ञसँग परामर्श लिने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्