काठमाडौँ, १८ फागुन । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत २६ गते बसेको प्रतिनिधिसभा बैठकमा संसद् विघटन ठिक थियो भन्ने अभिमत जाहेर भएपछि आफूहरूले नयाँ विकल्प खोजेको बताएका छन् ।
काठमाडौँमा बिहीबार दिउँसो नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई विजयी गराउन ८ दलका सांसदहरूको संयुक्त भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले २६ पुसको प्रतिनिधिसभामा एमाले अध्यक्षद्वारा व्यक्त विचारले आफूहरूलाई सोच्न बाध्य बनाएको बताए ।
“अघिल्लो पटक संविधानविपरीत संसद् विघटन भएपछि हामी सबै संविधान र लोकतन्त्रको पक्षमा उभियौँ । संसद् पुनःस्थापना गर्न सडकसम्म गयौँ । हाम्रो गठबन्धन लोकतन्त्र र संविधानको रक्षाका निम्ति थियो, विकास र समृद्धिको जनचाहना सम्बोधन गर्न थियो । तर, बीचमा हामी अलिकति अलमलियौँ, अब ठिक ठाउँमा आएका छौँ । गठबन्धन सुदृढ बनाएर अघि बढ्छौँ,” उनले भने, “रामचन्द्रजीलाई ८ दलको होइन १० दलको समर्थन छ । गठबन्धनमा रहेका दलका साथै आम आदमी र नेपाल समाजवादी पार्टीको पनि समर्थन छ । स्वतन्त्र सांसदहरूको पनि समर्थन छ । उहाँले निर्वाचन जितिसक्नुभएको छ । यो लोकतन्त्र र संविधानको हितमा छ ।”
आफ्नो लागि प्रधानमन्त्री पद ठुलो कुरा नभएको भन्दै उनले संविधान र लोकतन्त्रको रक्षा ठुलो भएको बताए । तर, २६ पुसमा संसद्मा केपी ओलीले संसद् विघटन गर्नु ठिक थियो भनेपछि संसद् विघटनको विपक्षमा रहेकाहरूले सोच्न बाध्य भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
“संविधान र लोकतन्त्रविरूद्ध हामी जाने कुरा भएन । हामीले सोच्न बाध्य भयौँ । त्यस्तो नयाँ परिस्थिति बन्यो । आज फेरि संविधान र लोकतन्त्रको रक्षाका निम्ति हामी एक ठाउँमा उभिएका छौँ । हामीसँग विगतका तीता अनुभवहरू छन् । राष्ट्रपति संस्था संविधान र लोकतन्त्रको रक्षक हो, राष्ट्रको अभिभावक हो । तर, विगतमा त्यस्तो भएन,” उनले भने,“यसपटक हामीले संविधानको महत्व र अन्तर्य बुझेको, लोकतन्त्रका निम्ति लामो संघर्ष गरेको निष्ठावान नेता उम्मेदवार बनाएका छौँ । उहाँले संविधान र लोकतन्त्रको रक्षाका निम्ति अभिभावकको भूमिका खेल्नुहुनेछ भन्ने हाम्रो विश्वास छ ।”
प्रतिक्रिया दिनुहोस्