कास्की, २० फागुन । सत्तारूढ नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरूङले राष्ट्रपति/उपराष्ट्रपति निर्वाचन सम्पन्न भएपछि मात्र वर्तमान मन्त्रिपरिषद् विस्तार र पुनःगठन हुने बताएका छन् ।
राष्ट्रपति/उपराष्ट्रपति निर्वाचन आचारसंहिता लागु भइसकेकाले विश्वासको मत लिने र मन्त्रिपरिषद्लाई पूर्णता दिन अप्ठ्यारो भएकाले आगामी चैत ५ गतेपछि मात्र प्रक्रिया सुरू हुने बताए ।
पोखरामा शुक्रबार प्रदेशसभा सदस्यको अभिमुखीकरण कार्यक्रममा उनले राष्ट्रिय स्वाधिनता र देशमा अर्थतन्त्रमा देखिएको संकटलगायतका समस्या समाधान गर्न न्यूनतम सहकार्य अनिवार्य रहेको उल्लेख गरे ।
उनले भने, “देशमा विद्यमान समस्या समाधान गर्न दलबीच सहकार्य हुनुपर्दछ । अहिले सबै दललाई जुटाउन प्रयास गरेपनि जुट्न सकेन, एमाले र राप्रपा सहमत नहुँदा सरकारबाट बाहिरिएका छन् । यस अवस्थामा ८ दल बसेर सहकार्य गर्दै अघि बढ्ने सैद्धान्तिक सहमति भएको छ ।”
महासचिव गुरूङले आगामी राष्ट्रपतिका लागि ८ दलीय गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जीवनपर्यन्त सुरूवातदेखि अहिलेसम्म लोकतन्त्रको रक्षा र मुलुकको परिवर्तनका लागि लागिपरेको उल्लेख गरे ।
फागुन २५ गते निर्वाचनमा पौडेल राष्ट्रपतिमा निर्वाचित हुने निश्चित रहेको गुरूङको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्