बागलुङ, २० फागुन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकमा व्यवस्थाहरू फेरिए पनि जनताको अवस्था नफेरिएको बताएका छन् । शुक्रबार बागलुङमा आयोजित जनमोर्चाको सातौँ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले स्वार्थको राजनीतिले गर्दा नागरिकको अवस्था जस्ताको त्यस्तै रहेको बताए ।
प्रतिनिधिसभा सदस्यसमेत रहेका केसीले सत्ताका लडाइँले जनता मारमा परिरहेको भन्दै लामो समय लडेर ल्याएको उपलब्धि विभिन्न शक्तिहरू सकाउने खेलमा लागेको बताए । “प्रणाली फेरियो, राणा शासनको ठाउँमा राजा शासन आयो, पञ्चायती व्यवस्थाका ठाउँमा गणतन्त्र आयो, संघीयता आयो तर नेपाली जनताको अवस्थामा परिवर्तन आएन,” उनले भने ।
अध्यक्ष केसीले थपे,“यहाँको व्यवस्थासँग किसानहरूलाई सोझासाझा जनतालाई त्योसँग सरोकार हुँदैन, मात्र उनीहरूलाई नुन के भाउमा पाइन्छ ? तेल के भाउमा पाइन्छ ? छोराछोरीलाई स्कुल पठाउँदा कति फि तिर्नुपर्छ ? लत्ताकपडा चामल कसरी जोहो गर्नुपर्छ ? त्यो बेलाको समस्या छुन्छ ।”
राजनीति गर्नेहरूले देश र जनताको लागि नभइ आफ्नो स्वार्थका लागि गर्ने गरेकाले आम नागरिकको जीवनमा परिवर्तन हुन नसकेको उनको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्