काठमाडौँ, २३ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २९ गतेभित्र शीतल निवास छोड्ने भएकी छन् ।
२५ फागुनमा हुने निर्वाचनमार्फत् नयाँ राष्ट्रपति आउने भएपछि राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो दोस्रो कार्यकाल पूरा गरेर राष्ट्रपतिको सरकारी कार्यालय छोड्न लागेकी हुन् ।
उनी बुढानिलकण्ठ नगरपालिका–२ मा आफैँले बनाएको घरमा सर्ने राष्ट्रपति भण्डारीको सचिवालयले जनाएको छ । नयाँ निर्वाचित राष्ट्रपतिले शपथ लिएपछि शीतल निवास आउन बाधा नपर्ने गरी खाली गर्ने योजना रहेको बताइएको छ ।
संविधानले फागुन २९ गतेसम्म पुरानै राष्ट्रपतिको कार्यकाल तोकेको छ । नयाँ निर्वाचित राष्ट्रपतिले प्रधानन्यायाधीशसँग शपथ लिनुपर्ने व्यवस्था छ ।
२५ फागुनमा राष्ट्रपतिको निर्वाचन हुँदै छ । राष्ट्रपतिका लागि सत्तारूढ ८ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार र नेकपा (एमाले)का तर्फबाट सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् ।
प्रतिक्रिया दिनुहोस्