सिरहा, २८ फागुन । सिराहामा दलित समुदायमाथि अपमानित व्यहार गरेको विरुद्धमा भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई कारबाहीको माग गर्दै सिराहाको गोलबजारमा प्रदर्शन गरेका छन् ।
दलितमाथि सार्वजनिक स्थानमा छोईछिट्टोको व्याबहार गरिनु कानुनी रुपमा अपराध भएको भन्दै मोर्चाले गाउँ पालिका अध्यक्षलाई कारबाहीको माग गरेका हुन् ।
कोणसभामा मोर्चाका प्रदेश संयोजक शिवकुमार महराले कानुनको रक्षा गर्ने, कार्यान्वयन नगर्ने व्यक्ति र संस्थाहरु नै दलितमाथि विभेद गर्न उद्देलित भएको बताए । उनले भने, ‘कानुन निर्माता र कार्यान्वयन गर्ने व्यक्तिहरुको यस्तै रबैया रहिरहेमा दलितहरु फेरि आन्दोलित हुनुपर्ने देखिन्छ, भगवानपुर घटनाको छानविन गरी दोषिलाई कारबाही नगरे हामी आन्दोलनलाई निरन्तरता दिन्छौँ ।’
सोही क्रममा पूर्वजिल्ला समन्वय समिति सिरहाका सदस्य तथा अधिकारकर्मी कृष्णमाया विकले दलितहरु फेरि कानुन कार्यान्वयनको लागि एकजुट हुनुपर्ने अवस्था आएको बताए । आज पनि दलितमाथि विभिन्न खालका विभेद भई रहेको जनाउँदै कानुन कार्यान्वयन गर्न पनि दलितले आन्दोलन गर्नुपर्ने अवस्था आएको अधिकारकर्मी विकले बताए ।
पत्रकार तथा अधिकारकर्मी अर्जुन थपलियाले भागवानपुर घटना मेलमिलाप गर्ने खालको नभएको बताए । उनले भने, ‘यो घटना ६० लाख दलितहरुप्रतिको अपमान हो, सामाजिक मेलमिलापको विषय होइन, कानुनी निरुपणको विषय हो । घटनाको विषयमा छानविन गरी दोषीलाई हदैसम्मको कारबाही गरिनुपर्छ।’
नेकपा (एमाले)का जिल्ला सचिवसमेत रहेका भगवानपुर गाउँपालिका अध्यक्ष यादवले फागुन २२ गते सोमबार आमाको मृत्युको १३ दिने भोजको आयोजना गरेका थिए । त्यही भोजमा दलित, गैरदलित र मुस्लिम समुदायलाई प्लेकार्ड र ब्यानार राखेर छुट्टाछुट्टै भोजको आयोजना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्