एजेन्सी, ४ चैत । अन्तर्राष्ट्रिय फौजदारी अदालतले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
सो अदालतले युक्रेनमा युद्ध अपराधका लागि पुटिनलाई जिम्मेवार ठहर्याएको छ । गैरकानुनी रूपमा युक्रेनी बालबालिकालाई रूस लगिएको आरोप पनि अदालतले लगाएको छ ।
फेब्रुअरी २०२२ मा रूसले आक्रमण गरेपछि यस्ता अपराध भएको अदालतको भनाइ छ ।
रूसले भने आक्रमणको क्रममा युद्ध अपराधको आरोप अस्वीकार गरेको छ । पक्राउ पुर्जीबारे प्रतिक्रिया दिँदै रूसी विदेश मन्त्रालयका प्रवक्ताले यसको ‘कुनै महत्व’ नभएको जिकिर गरिन् । प्रवक्ता मारिया जाखारोभाले आफ्नो टेलिग्राम च्यानलमा भनिन्, “अन्तर्राष्ट्रिय फौजदारी अदालतको निर्णयले हाम्रो देशको कानुनी दृष्टिकोबाट कुनै अर्थ राख्दैन ।”
पक्राउ पुर्जी जारी गरे पनि पुटिनलाई पक्रिने शक्ति भने सो अदालतलाई छैन । अदालत गठनसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका मुलुक मात्र सो अदालतको क्षेत्राधिकारभित्र पर्छ ।
प्रतिक्रिया दिनुहोस्