काठमाडौँ, ५ चैत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभामुख देवराज घिमिरेले पत्रकारहरूमाथि गरेको टिप्पणीप्रति आत्मालोचना गर्नुपर्ने बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री शर्माले सभामुख घिमिरेले पत्रकारहरूको बारेमा गरेको टिप्पणीप्रति आफूहरूको विमति रहेको बताए ।
सभामुखले पत्रकारहरूका विषयमा गरेको टिप्पणी समाजको अघि गम्भीर ‘नोटिस’ मा रहेको उनले बताए । राज्यको चौथो अंगको रूपमा रहेको पत्रकारिता क्षेत्र देशमा लोकतान्त्रिक रूपान्तरणका लागि आफैँ संलग्न भएको भन्दै त्यस क्षेत्रप्रति टिप्पणी आलोच्य भएको महामन्त्री शर्माको भनाइ छ ।
उनले भने, “देशको सभामुखले देशको चौथो अंगको सन्दर्भमा बोल्नुभन्दा अगाडि सोच्नु पनि हजार पटक पर्छ । उहाँले जे बोल्नुभएको छ, त्यो विषय गम्भीर नोटिसमा समाजको सामुन्ने छ । त्यसप्रति हामी सबैको विमति छ । कुनै व्यक्तिको बारेमा कहीँ कतै टिप्पणी छ भने पनि त्यसलाई अलगरूपमा राख्ने एउटा विषय हो । तर, समग्रमा पत्रकारहरूको बारेमा, चौथो अंगको बारेमा जे टिप्पणी आएको छ, त्यो अत्यन्त आलोच्य छ । उहाँले आत्मालोचना गर्नुपर्छ ।”
प्रतिक्रिया दिनुहोस्