काठमाडौँ, १२ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पालना र संरक्षण गर्ने विषय अब आफ्नो प्रमुख दायित्व र कर्तव्य हुने बताएका छन् । नेपाल बार एसोसिएसनको प्रतिनिधिमण्डलसँग शनिबार भएको भेटमा राष्ट्रपति पौडेलले सो कुरा बताएका हुन् ।
राष्ट्रपति पौडेलले संविधान निर्माण गर्ने प्रक्रियामा समेत रहेर काम गर्ने अवसर प्राप्त भएकाले संविधानले राष्ट्रपतिलाई दिएको काम, कर्तव्य र अधिकारप्रति आफू सचेत नै रहेको बताए । पौडेलले भने, “संविधानको अक्षर र भावनाको मर्मअनुरुप कानुनका जानकारहरूले काम गर्न सुझाव र सल्लाह दिनुहोला ।”
नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेलगायत पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्