काठमाडौँ, १२ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रालयको संख्या बाँडफाँडको प्रारम्भिवक प्रस्ताव तयार पारेका छन् । गठबन्धनमा रहेका दलहरूसँग परामर्श गरेर उनले प्रारम्भिक प्रस्ताव तयार पारेका हुन् ।
प्रस्तावमा आज गठबन्धन दलसँग सहमति जुटाएर भोलिसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ । शनिबार बसेको नेकपा (माओवादी केन्द्र) पदाधिकारी बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले आज गठबन्धनको बैठक राख्ने र प्रारम्भिक प्रस्ताव पेस हुने बताए ।
गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूसँगको छलफलका आधारमा प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई एक राज्यमन्त्रीसहित ८, माओवादीलाई प्रधानमन्त्रीसहित ५, राष्ट्रिय स्वतन्त्र पार्टीलाई एक राज्यमन्त्रीसहित ३, नेकपा (एकीकृत समाजवादी)लाई एक राज्यमन्त्रीसहित ३, जनता समाजवादी पार्टी (जसपा)लाई २, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीलाई १–१ र स्वतन्त्र सांसदमध्ये एकजनालाई मन्त्री बनाउने प्रस्ताव तयार गरेका छन् ।
माओवादीबाट मन्त्री रहेका मन्त्रालयको हेरफेर गर्ने र कसलाई कुन मन्त्रालय दिने टुंगो लगाउने गरी शीर्ष तहमा छलफल भइरहेको छ । सबैलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्दा अहिले माओवादीले सम्हाल्दै आएका केही मन्त्रालय हेरफेर हुन सक्ने नेताहरूले बताएका छन् ।
प्रचण्डले गएको चैत ६ गते कांग्रेससहित १० दलको समर्थनमा विश्वासको मत लिएका थिए ।
नेपाली कांग्रेस उपसभापति पूर्ण बहादुर खड्काको नेतृत्वमा ८ मन्त्रालयसहित सरकारमा सहभागी हुने तयारीमा छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा शनिबार बसेको पदाधिकारी बैठकले ८ मन्त्रालयसहित सरकारमा जाने तयारी गरेको हो ।
त्यस्तै, एकीकृत समाजवादीले उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ ।
नेताहरूका अनुसार मन्त्रालयको भागबन्डा हुँदा माओवादीले गृह र कांग्रेसले अर्थ मन्त्रालय पाउने सम्भावना बलियो छ । अहिलेसम्म माओवादीबाट उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधारमा नारायणकाजी श्रेष्ठ, सामान्य प्रशासन मन्त्रालयमा अमनलाल मोदी, सञ्चारमा रेखा शर्मा, पर्यटनमा सुदन किराती र पर्यटन राज्यमन्त्रीमा शुशीला सिर्पाली छन् । यस्तै, जनमतबाट अब्दुल खान मन्त्री छन् । बाँकी मन्त्रालय प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्