काठमाडौँ, १४ चैत । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी अनुमति पत्र (लाइसेन्स) चालकले ३ दिनेमै पाउने बताएका छन् । तर, यो लागु हुन अझै चालकले ८ महिना कुर्नुपर्ने उनको तर्क छ ।
सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उपप्रधानमन्त्री श्रेष्ठले मन्त्रालयको जिम्मेवारी सम्हालेको ३ महिना ३ दिनमा आफूले गरेका काम सार्वजनिक गर्दै उनले उक्त कुरा बताएका हुन् । उनका अनुसार अबको ८ महिनापछि चालकले ट्रायल दिएको ३ दिनमा लाइसेन्स पाउँछन् ।
मन्त्री श्रेष्ठले सरकारले नयाँ प्रिन्टिङ मेसिन खरिद गरेर लाइसेन्स वितरणलाई प्रभावकारी बनाउन लागेको जानकारी दिए । उनले हरेक दिन दैनिक ६ हजारको संख्यामा लाइसेन्स प्रिन्ट भएर वितरण गरिए पनि पछिल्लो लोडका कारण वितरण प्रभावकारी नभएको बताए । मन्त्री श्रेष्ठले मेसिन खरिदका लागि सूचना प्रकाशित भइसकेको र अब टेन्डरमा गएपछि खरिद प्रक्रियालाई अगाडि बढाइने जानकारी दिए ।
उनले मन्त्रालयले सोझै खरिद गर्न सार्वजनिक खरिद ऐनले रोक्ने भएपछि टेन्डरमा जानुपरेको दाबी गरे । मन्त्री श्रेष्ठले प्रधानमन्त्रीसँग पनि सल्लाह गरेरै मेसिन खरिदको प्रक्रिया अगाडि बढाइएको जानकारी पनि दिए । उनले अर्थले बजेट निकासा गरेपछि थप काम अगाडि बढ्ने बताए ।
प्रतिक्रिया दिनुहोस्