काठमाडौँ, १४ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अर्थमन्त्रीमा डा.प्रकाशशरण महतलाई पठाउने भएका छन् । पार्टी पदाधिकारीहरूकै चर्को विरोधका बाबजुद देउवाले अर्थ मन्त्रालयको जिम्मेवारी महतलाई दिन लागेका हुन् ।
अर्थ मन्त्रालय कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापालगायतको चर्चा थियो । सभापति देउवाले डा.महतलाई च्यापेपछि उपसभापति र महामन्त्री पछि परेका छन् ।
महत कांग्रेसको महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए । महाधिवेशनमा पराजित भएको व्यक्तिलाई प्रवक्ता बनाएको भन्दै कांग्रेसवृत्त र बाहिर पनि देउवाको चर्को आलोचना भएको थियो ।
पार्टीको चुनावमा हार बेहोरे पनि देउवाले महतलाई समानुपातिक प्रणालीमार्फत् सांसद् बनाए । अघिल्लो निर्वाचनमा महत काठमाडौँ–५ बाट एमालेका नेता ईश्वर पोखरेलसँग पराजित भएका थिए । अहिले सो क्षेत्रमा उनै पोखरेललाई पराजित गर्दै कांग्रेसका युवानेता प्रदीप पौडेल विजयी भएका छन् ।
डा.महतलाई अर्थमन्त्री बनाउने विषयमा उपसभापति खड्कासहित कोही पनि पदाधिकारी सन्तुष्ट नरहेको कांग्रेस स्रोतको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्