काठमाडौं, १५ चैत । प्नधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज आफ्नो सरकारको विस्तार गर्ने भएका छन् ।
बुधवार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकको निर्णय अनुसार आज प्रचण्ड नेतृत्वको सरकार विस्तार हुन लागेको हो । जसअनुसार हाल रिक्त रहेको १६ वटा मन्त्रालयसहित २५ वटा मन्त्रालयको भागबन्डा टुगो लागेको जनाउँदै बिहीबार अपरान्ह शपथ ग्रहण गराउने गरी भागबन्डा टुंगिएको हो ।
बालुवाटारमा हिजो बसेको बैठकमा सरकारमा सहभागी हुने ९ दलबीच २१ मन्त्रालयमा सहमति भएको नेताहरूले बताएका छन् । जसअनुसार नेकपा (माओवादी केन्द्र)लाई प्रधानमन्त्रीसहित ५, नेपाली कांग्रेसलाई ८, नेकपा (एकीकृत समाजवादी)लाई २, जनता समाजवादी पार्टी नेपाललाई २, जनमत पार्टीलाई राज्यमन्त्रीसहित २, लोकतान्त्रिक जनता पार्टी नेपाललाई १, नागरिक उन्मुक्ति पार्टीलाई १, आम जनता पार्टीलाई १ र नेपाल समाजवादी पार्टीलाई १ मन्त्रालय दिने सहमति भएको बताइएको छ ।
सो सहमतिपछि प्रचण्ड सरकारमा सहभागि हुने मन्त्रीको नाम टुंगो लगाउनका लागि नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ भने एकीकृत समाजवादीले बुधबार आकस्मिक रुपमा सचिवालय बैठक बोलाएर उपाध्यक्ष बेदुराम भुषाल र उपमहासचिव प्रकाश ज्वालालाई प्रचण्ड नेतृत्वको सरकारमा पठाउने निर्णय गरिसकेको छ । तर, सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले भने तीनवटा मन्त्रालय पाउनु पर्ने जनाउँदै तीनवटा मन्त्रालय नदिएमा नाम सार्वजनिक नगर्ने जनाएका छन् ।
उता, प्रचण्ड नेतृत्वको सरकारमा सहभागितालाई लिएर अन्य राजनीतिक दलले भने बिहीबार नै निर्णय लिने गरी बैठक बोलाएका छन् ।
प्रतिक्रिया दिनुहोस्