इरान, १९ चैत । इरानमा कपाल नछोपी (हिजाब नलगाई) सार्वजनिक स्थलमा आएको भन्दै दुई महिलामाथि दही छ्यापिएको छ ।
महिलामाथि दही छापिएको भिडियो सार्वजनिक भएपछि सोही आधारमा हिजाब नलाएको भन्दै इरानी पुलिसले उनीहरुलाई पक्राउ गरेर मुद्दा चलाएको छ । महिलाहरुले कपाल नढाकी बजारमा किनमेलका लागि निस्केका कारण देखाउँदै सरकारले उनीहरुलाई पक्राउ गरेको इरानी सञ्चार माध्यमले जनाएका छन् ।
दुई महिला ग्राहक एक पुरुषसँग कुराकानी गर्न तथा किनमेल गर्न पसलमा जान्छन् । त्यसको केही बेरमा पसलमा राखिएको दही दुवै महिलाको टाउकोमा एक पुरुषले छ्यापिदिन्छन् । जुन भिडियो अहिले भाइरल भएको छ, जुन भिडियोमा देखिएका महिलालाई नै कपाल नढाकी पसलमा गएको भन्दै प्रहरीले पक्राउ गरेको हो ।
साथै, सार्वजनिक स्थानमा हंगामा गरेको आरोपमा दही फाल्ने व्यक्ति पनि पक्राउ परेका छन् ।
इरानको न्यायपालिकाले ती दुई महिलालाई सार्वजनिक रूपमा कपाल नछोपेको आरोपमा हिरासतमा लिइएको बताएको छ। टाउको वा कपाल नढाक्नु इरानमा गैरकानुनी मानिन्छ । उता, इरानी न्यायपालिकाले पसलका मालिकलाई पनि कानूनको पालना सुनिश्चित गर्न नोटिस जारी गरिएको जनाएको छ ।
गत वर्ष सेप्टेम्बरमा २२ वर्षीया महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि इरानमा हिजाबको विरुद्धमा ठुलो प्रदर्शन भएको थियो । महसा अमिनीलाई हिजाब राम्रोसँग नलगाएको भन्दै हिरासतमा लिइएको दाबी गरिएको थियो ।
हालसम्म हजारौं प्रदर्शनकारी पक्राउ परेका छन् र डिसेम्बरमा चार प्रदर्शनकारीलाई फाँसी दिइएको थियो ।
प्रतिक्रिया दिनुहोस्