बुटवल, २० चैत । सरकार परिवर्तनको रस्साकस्सी चलिरहेको बेला लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै छ ।
प्रदेशसभा सचिवालयका अनुसार सोमबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको छ । प्रदेशका सभामुख तुलाराम घर्तीको निर्देशनमा लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ नियम १२ को उपनियम (३) बमोजिम अनुरुप सोमवारको बैठक आह्वान गरिएको हो । सो बैठकमा मुख्यमन्त्री लिला गिरीले ‘लुम्बिनी प्रशिक्षण प्रतिष्ठान’ सम्बन्धी विधेयक पेस गर्ने कार्यतालिका रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
यसैगरी, प्रतिपक्ष दलहरुले भने विशेष समयमा मुख्यमन्त्री गिरीको राजिनामा माग्ने तयारी गरेका छन । नेकपा (माओवादी केन्द्र)सहित केन्द्रीय सत्तारुढ गठबन्धन आबद्ध दलले समर्थन फिर्ता लिएको भन्दै राजीनामा दिनु पर्ने मागलाई बैठकमा उठाउने तयारी उनीहरूले गरेका हुन् ।
माओवादीलगायतको समर्थनमा मुख्यमन्त्री बनेका एमालेका गिरीलाई केन्द्रीय राजनीति परिवर्तन भएलगत्तै माओवादीलगायतले समर्थन फिर्ता लिएपछि राजीनामा दिनु पर्ने विषय उठाइँदै आए पनि गिरीले भने संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिन खोजिरहेका छन् ।
प्रतिपक्ष दलहरुले भने गिरीको राजीनामा पछि कांग्रेसका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न भन्दै यसअघि नै प्रदेश प्रमुखसमक्ष दाबी पेस गरे अनुसार तत्काल नियुक्ति खोजिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्