एजेन्सी, २२ चैत । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । अदालती सुनुवाइपछि उनलाई प्रहरी हिरासतमा राखिएको बिबिसीले जनाएको छ ।
ट्रम्पले आफ्ना पूर्ववकिल माइकल कोहेनमार्फत् वयस्क चलचित्र अभिनेत्री स्टोर्मी ड्यान्यल्सलाई सन् २०१६ को चुनावअघि रकम दिएकोसहित ३४ विषयमा उनीविरूद्ध मुद्दा चलेको छ ।
मंगलबार म्यानहटनको अपराधिक अदालतमा न्यायाधीश जुआन मर्चनको इजलासमा उनीविरूद्धको मुद्दाको सुनुवाइ भएको थियो । ट्रम्पलाई अदालतमा उनका वकिलले घेरा हालेका थिए । उनीविरूद्ध आरोप लगाउने कानुन व्यवसायीले मुद्दाको रूपरेखा प्रस्तुत गर्दै सन् २०१६ को चुनावलाई प्रभावित पार्न गोप्य र अवैध भुक्तान गरेको आरोप लगाए ।
म्यानहटनस्थित अदालतको १५औँ तलामा उनीविरूद्धको मुद्दाको सुनुवाइ भएको थियो । मंगलबार दिउँसो २ः१५ देखि अदालती सुनुवाइ भएकोमा साढे १ बजे ट्रम्प अदालत पुगेका थिए ।
अदालती सुनुवाइअघि सोमबार नै न्युयोर्कस्थित ट्रम्प टावरमा पुगेका थिए । उनले सो रात त्यहीँ बिताए ।
अदालतभित्र छिरिसकेपछि उनले अधिकारीहरूसमक्ष आत्मसमर्पण गरे अनि उनीविरूद्ध मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढेको थियो । पक्राउपछि उनलाई हतकडी भने लगाइएको थिएन ।
सुनुवाइका क्रमम ट्रम्पले ३ पटक मात्रै बोलेका थिए । २ पटक उनले आरोप अस्वीकार गरे भने तेस्रोपटक प्रतिवादीका रूपमा आफ्नो अधिकार सुनिश्चित गर्न अदालतसँग माग गरे ।
अमेरिकी इतिहासमै पूर्वराष्ट्रपतिविरूद्ध फौजदारी मुद्दा चलेको यो पहिलोपटक हो । उनी दोषी ठहर भएमा बढीमा ४ वर्षको जेल सजाय भोग्नुपर्ने छ ।
प्रतिक्रिया दिनुहोस्