नेपालगन्ज, १८ माघ । संघिय प्रहरी ईकाई नेपालगन्जको टोलीले ओभरलोड बोकेका २६ वटा ट्याक्टरलाई बाँकेका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ ।
ट्याक्टरले ओभरलोड गरेको जनगुनासो बढ्न थालेपछि संघिय प्रहरी ईकाईको टोलीले फुलटेक्रा, पुरैनी, पुरैना लगायत स्थानबाट ट्याक्टरलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले बुधबार ओभर लोड बोकेका १४ र बिहीबार १२ वटा ट्याक्टर नियन्त्रण लिएको हो ।
ट्राफिक प्रहरीलाई नै प्रभावमा पारेर ट्याक्टरले ओभरलोड ढुंगा, गिट्टी, बालुवा र मोरङ ढुवानी गर्दै आएका छन् । बुधबार नियन्त्रणमा लिइएका ट्याक्टरलाई प्रहरीले आवश्यक कारबाहीका लागी जिल्ला समन्वय समिति समक्ष बुझाएको छ ।
बिहीबार नियन्त्रणमा लिइएका १२ ट्याक्टरलाई भने जरिवाना गरेर र ओभर लोड झार्न लगाएर छाडिएको संघिय प्रहरी ईकाई नेपालगन्जका प्रमुख एवम् वरिष्ठ प्रहरी उपरिक्षक(एसएसपी) महेशविक्रम शाहले जानकारी दिए ।
यता जिल्ला ट्राफिक प्रहरी प्रमुख एवम् ट्राफिक प्रहरी निरिक्षक होमबहादुर थापाले ओभरलोड बोक्ने ट्याक्टरलाई ट्राफिक प्रहरीले कारबाही गर्दै आएको जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस्